काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा सबैभन्दा बढी आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
यस वर्ष सरकारले प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ। व्यवसाय सञ्चालनमा ठूलो क्षति व्यहोर्नुपरे पनि रोजगारी संरक्षण र पुनः व्यवसाय सञ्चालनमा देखाएको सक्रियताका कारण भाटभटेनीलाई विशेष सम्मान गरिएको हो।
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो। उक्त घटनाबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोरेको थियो। तर ठूलो क्षति हुँदाहुँदै पनि कर्मचारीको रोजगारी कटौती नगरी पुनः लगानी गरेर कम्पनीले आफ्ना अधिकांश स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ।
सरकारले विभिन्न क्षेत्र र प्रकृतिका व्यवसाय तथा व्यक्तिगत आयकरदातालाई समेटेर १९ विधामा उत्कृष्ट करदाता छनोट गरेको हो। यसमा बैंकिङ, बीमा, लघुवित्त, पर्यटन, ऊर्जा, उद्योग, वस्तु तथा सेवा निर्यात, रेमिट्यान्स र व्यक्तिगत आयलगायत क्षेत्र समेटिएका छन्।
सम्मानित हुने करदातामध्ये निकायहरूतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि छनोट भएको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनलले सम्मान प्राप्त गरेको छ। वस्तु निर्यात गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि सम्मानित भएको छ।
सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेको छ। कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एण्ड फिड्स प्रालिले सम्मान पाएको छ। बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक लिमिटेड सम्मानित भएको छ।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाता बनेको छ। पर्यटन व्यवसाय गर्ने कम्पनीमध्ये सोल्टी होटल लिमिटेडले सम्मान प्राप्त गरेको छ। त्यस्तै, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा छनोट भएको छ।
वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँसम्म भएका करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालिले सम्मान प्राप्त गरेको छ भने रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीमध्ये आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको छ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ को असार मसान्तसम्म नियमित रूपमा भ्याट विवरण र सोअनुसारको कर समयमै दाखिला गर्ने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा बढी भ्याट दाखिला गरेको भन्दै सम्मान पाएको छ।
त्यस्तै वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म भएका करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड सम्मानित भएको छ। विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेको छ। बीमा क्षेत्रमा जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएका छन्। लघुवित्त क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्: