सामाजिक सुरक्षा भत्तामा ३१ लाख भ्रष्टाचार, वडाध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

२०८३ कार्तिक २१

काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र कर्मचारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गाउँपालिकाको वडा नम्बर ९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको पाइएको छ।

अनुसन्धानका क्रममा तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङले वास्तविक लाभग्राहीको सट्टा आफ्नै दायाँ हातको बुढी औँलाको छाप ३६० पटक प्रयोग गरी २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको वा लिन लगाएको पाइएको छ। त्यस्तै एउटै व्यक्तिको नाम दोहोरो राखेर भत्ता निकासा गरिएको र मृत्यु भइसकेका तथा अन्यत्र बसाइँ सरेका व्यक्तिको नाममा समेत २ लाख ५२ हजार रुपैयाँ भत्ता वितरण भएको देखाइएको अभियोगपत्रमा उल्लेख छ।

अद्यावधिक नगरिएका तथा गलत विवरण भएका कागजातका आधारमा सरकारी पेश्कीसमेत फछ्र्यौट गरी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। मुद्दा दायर गरिएका पाँच जनामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, वडा नम्बर ९ का तत्कालीन अध्यक्ष शुकवीर तामाङ र तत्कालीन एमआईएस अपरेटर खिला विक रहेका छन्।

आयोगले दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ। त्यस्तै वडा अध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो मागदाबी गरिएको छ। आयोगले बिगो असुल, बिगो बराबर जरिवाना र कैद सजायको माग गरेको भने सरकारी अभिलेखमा हेरफेर गरेको आरोपमा थप सजायको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्: