काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक विमान र कार्गो विमान एकआपसमा ठोक्किँदा दुई यात्रु घाइते भएका छन्। विमानस्थलको ट्याक्सीवेमा गुडिरहेका बेला पानामाको कोपा एयरलाइन्सको बोइङ ७३७ र युनाइटेड पार्सल सर्भिस (यूपीएस) को बोइङ ७६७ कार्गो विमान आपसमा ठोक्किएका हुन्।
दुर्घटना शनिबार राति करिब ९ः१५ बजे भएको हो। कोपा एयरलाइन्सको विमान पानामा सिटीबाट १६६ यात्रु र छ जना चालक दलका सदस्यसहित मियामी आइपुगेको थियो। अवतरणपछि विमान ट्याक्सीवे हुँदै अघि बढिरहेका बेला अर्को विमानसँग ठोक्किएको हो।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार कोपा एयरलाइन्सको विमानको पखेटाको टुप्पोले यूपीएसको कार्गो विमानको अगाडिको भागमा ठक्कर दिएको हो। उक्त कार्गो विमान कोलम्बियाको बोगोटाका लागि उडान भर्ने तयारीमा ट्याक्सीवेमा अघि बढिरहेको थियो।
कोपा एयरलाइन्सका अनुसार विमानमा सवार दुई यात्रुलाई सामान्य चोट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो। उनीहरूलाई विमानस्थलमै स्वास्थ्यकर्मीले उपचार तथा परीक्षण गरेका थिए। अस्पताल भर्ना गर्नुपर्ने अवस्था भने नरहेको मियामी–डेड उड्डयन प्रशासनले जनाएको छ। विमानमा रहेका अन्य यात्रु तथा चालक दलका सदस्य भने सुरक्षित छन्।
घटनापछि यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट ओरालिएको थियो। यूपीएसले पनि आफ्ना चालक दलका सदस्य सुरक्षित रहेको र घटनाको अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोग गर्ने जनाएको छ। अमेरिकी संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्: