राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांदस ११ दिने चीन भ्रमणमा

२०८३ कार्तिक ३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा निस्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा टोली आइतबार बिहान चीनतर्फ प्रस्थान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए।

भ्रमणलाई दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र विकासका सम्भावना पहिल्याउने अवसरका रूपमा लिइएको छ। भ्रमणका क्रममा सुशासन, आर्थिक समृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार, संस्थागत सुदृढीकरण तथा जनताको अपेक्षाअनुसार राजनीतिक नेतृत्व सञ्चालन गर्नेलगायत विषयमा चिनियाँ पक्षसँग विचारविमर्श हुने महामन्त्री आचार्यले बताएका छन्।

आचार्यका अनुसार सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले भ्रमणका सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने दुवैबाट समान प्रकृतिका सुझाव प्राप्त भएका छन्। प्रधानमन्त्रीले राज्यको प्राथमिकता र हितलाई केन्द्रमा राखेर छलफल गर्न आग्रह गरेको उनले बताए। भ्रमणका विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको चासो तथा सुझाव मिल्दोजुल्दो रहेको उनको भनाइ छ।

यसपटकको भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङसँग भने भेटवार्ता तय नभएको आचार्यले स्पष्ट पारेका छन्। यद्यपि बेइजिङमा पार्टीका दोस्रो तहका नेताहरूसँग संवाद हुन सक्ने उनले जानकारी दिए। विशेषगरी प्रविधिको विकास, दुई देशबीचको कनेक्टिभिटी र सीमापार सहकार्यका विषय छलफलको प्राथमिकतामा रहनेछन्।

प्रतिनिधिमण्डलको चीन भ्रमणको पहिलो गन्तव्य सिचुवान प्रान्तको चेङ्दु हुनेछ। त्यहाँ पुगेपछि टोलीले कात्तिक ३० गते ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ को अवलोकन गर्नेछ। सोही दिन चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गतको पार्टी स्कुलका नेताहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त अवसरमा रास्वपाका तर्फबाट महामन्त्री आचार्यले आफ्ना धारणा प्रस्तुत गर्नेछन्।

मंसिर २ गते सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागिता जनाउने कार्यक्रम छ। त्यसैगरी मंसिर ६ गते झेजियाङ विश्वविद्यालय पुगेर थिङ्क ट्याङ्क अर्थात् नीतिगत अध्ययन तथा अनुसन्धान गर्ने संस्थाको विकास र कार्यप्रणालीबारे अवलोकन गरिनेछ। मंसिर ७ गते आयोजना हुने चीन–नेपाल उद्यमी सम्मेलनमा पनि प्रतिनिधिमण्डल सहभागी हुनेछ।

चेङ्दु र आसपासका क्षेत्रको कार्यक्रम सकेपछि टोली मंसिर ७ गते नै चीनको राजधानी बेइजिङ प्रस्थान गर्नेछ। त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता र विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको आचार्यले बताएका छन्। मंसिर १० गते भ्रमण पूरा गरी प्रतिनिधिमण्डल नेपाल फर्किनेछ।

प्रतिक्रिया दिनुहोस्: