काठमाडौं । विश्वमा शान्ति स्थापना, मानव अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको आज ८१औँ स्थापना दिवस मनाइँदैछ। सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको बडापत्र लागू भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
यस वर्ष संयुक्त राष्ट्रसंघले विश्वमा शान्ति स्थापना र पृथ्वीको स्वास्थ्य संरक्षणमा जोड दिएको छ। विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध अन्त्य गर्न, जलवायु परिवर्तनका असर कम गर्न र विश्वव्यापी समस्याको समाधानका लागि सबै देश मिलेर काम गर्नुपर्ने सन्देश दिइएको छ।
दोस्रो विश्वयुद्धबाट भएको ठूलो जनधनको क्षतिपछि भविष्यमा यस्ता विनाशकारी युद्ध रोक्ने र मानवताको रक्षा गर्ने उद्देश्यले सन् १९४५ मा ५१ संस्थापक राष्ट्रको सहभागितामा संयुक्त राष्ट्रसंघ स्थापना भएको थियो। अहिले यसका सदस्य राष्ट्रको संख्या १९३ पुगेको छ।
यस वर्ष विश्वका विभिन्न क्षेत्रमा बढिरहेको तनाव, युद्ध, हतियारको प्रतिस्पर्धा र जलवायु परिवर्तनका कारण संयुक्त राष्ट्रसंघको भूमिकाबारे फेरि बहस भइरहेको छ। बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्थापना दिवसका अवसरमा जारी गरेको सन्देशमा गरिबी र भोकमरी अन्त्य गर्न, दिगो विकासका लक्ष्य हासिल गर्न, मानव अधिकारको रक्षा गर्न र नयाँ प्रविधिको जिम्मेवार प्रयोग गर्न सबै राष्ट्रलाई एकजुट हुन आह्वान गरेका छन्।
उनले विवादको समाधान हतियारबाट नभई कूटनीति र कानुनबाट खोज्नुपर्नेमा जोड दिएका छन्। साथै, युद्ध, विपद् र विस्थापनमा परेका मानिसलाई सहयोग पुर्याउने, लैङ्गिक समानता प्रवद्र्धन गर्ने तथा महिला र बालिकाका लागि अवसर विस्तार गर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
गुटेरेसले अहिले विश्व द्वन्द्व, जलवायु संकट र बढ्दो असमानताबाट प्रभावित भइरहेको उल्लेख गर्दै विभाजनको सट्टा संवाद, टकरावको सट्टा सहकार्य र डरको सट्टा ऐक्यबद्धतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धता कायम राख्दै संस्थालाई अझ बलियो बनाउन सबै देशसँग आग्रह गरेका छन्।
नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। त्यसयता नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्धान्तप्रति प्रतिबद्धता जनाउँदै आएको छ। नेपालको परराष्ट्र नीतिमा पनि संयुक्त राष्ट्रसंघको बडापत्रलाई महत्त्वपूर्ण मार्गदर्शक सिद्धान्तका रूपमा लिइन्छ।
विश्व शान्ति स्थापनामा नेपालको योगदान पनि उल्लेखनीय छ। संयुक्त राष्ट्रसंघका शान्ति मिसनअन्तर्गत विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शान्ति स्थापनाका लागि योगदान दिँदै आएका छन्। नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा धेरै शान्ति सैनिक पठाउने मुलुकमध्ये एक हो।

प्रतिक्रिया दिनुहोस्: