रसुवा–भोटेकोशी बाढीले निजी सम्पत्तिमा ७९ अर्बको क्षति

२०८३ कार्तिक १०

काठमाडौं । गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीबाट सर्वसाधारणको निजी सम्पत्तिमा करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) अन्तर्गतको घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानको सम्पत्तिमा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुगेको हो।

उक्त क्षतिमा सडक, जलविद्युत्लगायत पूर्वाधार तथा सामाजिक, उत्पादनशील र वातावरणीय क्षेत्रमा भएको नोक्सानी समावेश छैन। ती क्षेत्रको क्षति मूल्यांकन हुन बाँकी रहेकाले बाढीबाट भएको कुल आर्थिक नोक्सानी अझै बढ्न सक्ने देखिन्छ।

सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहका ६ हजार ८१७ घरपरिवार र १ हजार ६३८ व्यवसाय प्रभावित भएका छन्। बाढीबाट चार जिल्लाका ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएका छन्। तीमध्ये नुवाकोटमा १७ हजार ९५४, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएको आयोगले जनाएको छ।

बाढीबाट सबैभन्दा ठूलो आर्थिक क्षति जग्गाजमिनमा भएको छ। सर्वेक्षणअनुसार ३ हजार ६१० परिवारको ५०८ हेक्टर जमिनमा क्षति पुग्दा करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। त्यस्तै, घर रहेको जग्गामा १३ अर्ब २६ करोड र भवन निर्माणमा गरिएको लगानीमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीका कारण नगद तथा बहुमूल्य, सांस्कृतिक र पुरातात्त्विक वस्तुमा ५ अर्ब २ करोड, घरायसी सामानमा करिब २ अर्ब ११ करोड र सवारीसाधनमा करिब १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसका अतिरिक्त बाली, भण्डारण गरिएको खाद्यान्न, पशुपन्छी तथा माछापालन क्षेत्रमा पनि करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको आयोगले जनाएको छ।

बाढीबाट ३ हजार ९६७ घरधनीका ४ हजार १५१ भवन संरचनामा क्षति पुगेको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५०८ वटा संरचना माटो तथा लेदोले पुरिएका छन्। कुल क्षतिग्रस्त संरचनामध्ये ३ हजार १०४ वटा अर्थात् ७६.९५ प्रतिशत पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेको सर्वेक्षणले देखाएको छ।

व्यवसाय तथा प्रतिष्ठानतर्फ सबैभन्दा बढी थोक तथा खुद्रा व्यापार क्षेत्र प्रभावित भएको छ। यस क्षेत्रका ७७४ प्रतिष्ठानमा क्षति पुगेको छ। त्यसपछि आवास तथा खाद्य सेवा क्षेत्रका ३३७ र कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ प्रतिष्ठान प्रभावित भएका छन्। बाढीबाट व्यवसायका ४०३ सवारीसाधनमा पनि क्षति पुगेको छ, जसको मूल्य करिब ९४ करोड रुपैयाँ रहेको आयोगले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार बाढीबाट भएको हानि–नोक्सानीको विस्तृत मूल्यांकन, पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोतको निर्धारण तथा पुनर्निर्माण योजना तयार गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोगले सर्वेक्षण गरेको हो। संकलित तथ्यांकको प्रशोधन तथा विश्लेषण भइरहेको र त्यसै क्रममा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: