कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

२०८३ कार्तिक १०

काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण नियमित समयभन्दा पछि सरेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

अभियानअन्तर्गत देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

यसअघि आर्थिक वर्ष २०८३/८४ को पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तय गरिएको थियो। तर दशैंको बिदा परेपछि कार्यक्रमको मिति परिवर्तन गरिएको हो। भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको विभागले जनाएको छ।

बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन, आँखासम्बन्धी समस्या तथा रोगसँग लड्ने क्षमता कमजोर हुने जोखिम घटाउन सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै जुकाको औषधिले पेटमा हुने परजीवी हटाउन र त्यसबाट हुन सक्ने कुपोषण तथा अन्य स्वास्थ्य समस्याको जोखिम कम गर्न सहयोग गर्छ।

सरकारले भिटामिन ‘ए’ खुवाउने कार्यक्रम २०५० सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालदेखि सुरु गरेको हो। अभियान सञ्चालनका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्: