काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा त्यसअनुसार अनुकूलन क्षमता बढाउने उद्देश्यले नेपालले प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन्। यी परियोजनाका लागि कुल ४ करोड ४९ लाख २६ हजार ४५७ अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रस्ताव गरेका यी परियोजनाले पर्यावरण संरक्षण, बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र जलवायु परिवर्तनका असर सामना गर्न स्थानीय समुदायको क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु अनुकूलनका लागि विश्वभर आर्थिक स्रोतको माग बढिरहेको तर अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन्। उनका अनुसार यसले वातावरण संरक्षणमा पर्ने आर्थिक भार व्यवस्थापन गर्न तथा प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न सहयोग पुर्याउनेछ।
स्वीकृत परियोजनामध्ये ‘ग्रिन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) कार्यान्वयन निकाय रहेको यस परियोजनाले प्रकृतिमा आधारित उपायमार्फत कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण गर्ने र जलवायु परिवर्तनको असर सामना गर्ने क्षमता बढाउने लक्ष्य राखेको छ।
त्यस्तै हिन्दुकुश हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) कार्यान्वयन निकाय रहेको यस परियोजनाले बाढीपहिरोको जोखिमबारे समयमै सूचना उपलब्ध गराई क्षति न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ।
तेस्रो परियोजना लुम्बिनी प्रदेशमा केन्द्रित छ। स्थानीय समुदायको नेतृत्वमा प्रकृतिमैत्री जलवायु कार्य सञ्चालन गरी उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्य रहेको यस परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर सहयोग प्रस्ताव गरिएको छ। युएन ह्याबिटाट यसको कार्यान्वयन निकाय रहेको छ।

प्रतिक्रिया दिनुहोस्: