विद्योदय आविमा : रोपाईंसँगै सिकाइको रंगीन उत्सव

२०८२ असार १५

म्याग्दी, असार १५, म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत राष्ट्रिय धान दिवसको अवसरमा रोपाईं कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र जीवनोपयोगी सीप सिकाउने प्रेरणादायी पहल गरेको छ ।
यो विशेष कार्यक्रमले विद्यार्थीहरूलाई कृषिको महत्व, श्रमको सम्मान र प्रकृतिसँगको सम्बन्ध बुझाउनुका साथै प्रयोगात्मक मूल्याङ्कनमार्फत उनीहरूको सीप, सिर्जनशीलता र जिम्मेवारी मापन गरेको छ ।
विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा पर गएर व्यवहारिक सीप र सामाजिक उत्तरदायित्व सिकाउने रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसपटक, राष्ट्रिय धान दिवस असार १५ को अवसरमा विद्यालयले स्थानीय खेतमा रोपाईं कार्यक्रम आयोजना गर्यो । स्थानीय कृषक राजेन्द्र पाइजाको खेतमा विद्यार्थीहरूले उत्साहपूर्वक हिलोमा धान रोपे, असारे गीतको लयमा आली लगाए । हिलो खेले र दहि चिउरा खाए । यी गतिविधिले उनीहरूमा टिमवर्क, धैर्य र प्रकृतिप्रेमको भावना जागृत गरेको विद्यालयले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले निधार्रण गरेको विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० आधारभूत तह (४–८) अनुुसार यो रोपाईं कार्यक्रमलाई प्रयोगात्मक मूल्याङ्कनको आधार बनाइएको छ । शिक्षकहरूले विद्यार्थीहरूको रोपाइँ प्रक्रियामा सहभागिता, माटो तयारी, बिरुवा रोप्ने तरिका, हेरचाहको ज्ञान र सहकार्यको क्षमतालाई मूल्याङ्कन गरे । यो पद्धतिले परम्परागत परिक्षामूखी शिक्षालाई चुनौंती दिँदै व्यवहारिक सीपमा आधारित मूल्याङ्कनको नवीन दृष्टिकोण प्रस्तुत गरेको छ । निमित्त प्रधानाध्यापक तथा सूूचना अधिकारी अमृता जिसी रोकाका अनुसार, “विद्यालयले विद्यार्थीहरूलाई किताबसँगै जीवनका व्यवहारिक पाठ सिकाउन जोड दिएको छ । असार १५ को रोपाईंले उनीहरूलाई कृषि, श्रम र प्रकृतिको महत्व बुझाएको छ । प्रयोगात्मक मूल्याङ्कनले उनीहरूको आत्मविश्वास र सीपलाई उजागर गरेको छ ।”
अतिरिक्त कार्यक्रम संयोजक सुजन पुनले भन्नुभयो, ‘रोपाईं जस्ता गतिविधिले विद्यार्थीहरूलाई प्रकृतिसँग जोडेर जिम्मेवारी र सिर्जनशीलताको पाठ सिकाएको छ । हाम्रो शुक्रबारे कार्यक्रमले सिकाइलाई जीवन्त र रमाइलो बनाएको छ ।’’
यता कक्षा ८ का विद्यार्थी अप्सन किसानले उत्साहित हुँदै भन्नुभयो, ‘असारे गीत गाँउदै आली लगाएँ निकै रमाइलो भयो ।’
कक्षा ७ का विद्यार्थी कृष्टी पाइजा र विपिना पुनले विद्यालयले पहिलोपटक रोपाईं कार्यक्रम राखेको बताए । उनीहरुले रोपाईं गर्दा, माटोमा खेल्दा रमाइलो भएको बताए ।
पछिल्लो समय कृषिकर्म घट्दै जानु र असारे लोकभाकाका गीतहरू हराउँदै गएको बेला विद्यालयको यो प्रयासले सांस्कृतिक संरक्षण गर्न सघाउ पुुग्ने विद्यालयको विश्वास छ ।
विद्यालयले सामाजिक अध्ययन, स्थानिय विषय व्यवसायिक तथा पर्यटन शिक्षा, स्वास्थ्य शारिरिक तथा सिर्जनात्मक अभिव्यक्ति कला विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यवहारिक रूपमा सिकाउँदै आएको सूचना अधिकारी रोकाले जानकारी दिनुभएको छ । शुक्रबारको रोपाईं कार्यक्रममा कक्षा ४ देखि ८ कक्षासम्मका करिब ६४ जना विद्यार्थी र शिक्षकहरु सहभागी भएका थिए ।
नेपालले वि.सं २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा पनि यसलाई बुझ्ने गरिएको छ । त्यसबाहेक हिलो खेल्ने र दहीचिउरा खाने दिनको रुपमा पनि यो दिनको सम्झना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्: