पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

२०८३ असार ५

काठमाडौँ । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासम्बन्धी विवाद समाधान गर्न सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकासविज्ञ विश्व राईको संयोजकत्वमा गठन गरिएको कार्यदललाई १५ दिनभित्र विवादका कारण पहिचान गरी समाधानका उपायसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

सरकारका अनुसार परियोजनासँग सम्बन्धित सबै पक्षको सहभागिता सुनिश्चित गर्दै सहमतिमूलक समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गरिएको हो।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केबलकार निर्माणको विरोध गरिरहेका पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि तथा निर्माण कम्पनीका प्रतिनिधिलाई सदस्य बनाइएको छ। साथै गृह मन्त्रालयका एक उपसचिव र प्रधानमन्त्रीको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलमा रहेका छन्।

मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर स्थानीय बासिन्दा, आदिवासी जनजाति समुदाय र अन्य सरोकारवालाबीच लामो समयदेखि विवाद तथा विरोध हुँदै आएको छ। सोही विवादलाई वार्ता र संवादमार्फत समाधान गर्ने प्रयासस्वरूप सरकारले कार्यदल गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्: