नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति, प्रज्ञा प्रतिष्ठानका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ असार ४

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा जागिर खाएको आरोपमा एक खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यरत रामकुमार बोहराविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका अनुसार बोहराले तरुण माध्यमिक विद्यालय, बालाजुको कक्षा १० को मार्कसिट, ट्रान्सफर सर्टिफिकेटलगायत शैक्षिक योग्यतासम्बन्धी झुट्टा विवरण तथा नक्कली प्रमाणपत्र पेश गरी २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी रा.प. अनंकित तृतीय श्रेणी सरहको रंगमञ्च सहायक पदमा स्थायी नियुक्ति लिएका थिए।

उक्त नक्कली कागजातका आधारमा उनले लामो समयसम्म पदमा कार्यरत रही तलब, भत्ता तथा अन्य सेवा–सुविधासमेत लिएको भन्दै अख्तियारले मुद्दा चलाएको हो। आयोगले बोहराविरुद्ध १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना र ६ महीनादेखि १ वर्षसम्म कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्: