भुक्तानीका नाममा ७२ हजार घुस लिएको आरोप, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

२०८३ असार ५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भइसकेपछि भुक्तानी प्रक्रिया अगाडि बढाइदिन विभिन्न बहाना बनाउँदै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

आयोगले गरेको अनुसन्धानबाट योजनाको काम सम्झौताअनुसार सम्पन्न भइसकेपछि पनि भुक्तानीमा अवरोध सिर्जना गर्दै यादवले सेवाग्राहीसँग घुस मागेर रकम लिएको पुष्टि भएको जनाएको छ।

यस आधारमा यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको ठहर गर्दै ७२ हजार रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ। सोही बिगो बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको माग गर्दै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: