काठमाडौं । सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का र राजस्व सङ्कलनमा अनियमितता गरी १ करोड ६० लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ।
आयोगले मंगलबार तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी तथा हाटबजारका ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध मुद्दा चलाएको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा गोलबजार नगरपालिकाका वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनमा अनियमितता भएको थियो। हाटबजारको राजस्व सङ्कलन गर्ने जिम्मेवारी प्रतिस्पर्धाबिना अमानतमा ठेकेदार यादवलाई दिइएको र नगरपालिकाले उठाउनुपर्ने राजस्वसमेत असुल नगरेको आरोप छ।
आयोगको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले कानुनी प्रक्रियाविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा असुल नगरेको पाइएको छ। यसरी दुवै आर्थिक वर्षमा गरी कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको आयोगको दाबी छ।
आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, श्रीधर केसी र राजस्व शाखा प्रमुख सहनीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतोविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरी सजायको माग गरिएको छ। हाटबजारका ठेकेदार यादवलाई मुख्य कसुरमा सहयोग गरी गैरकानुनी लाभ लिएको आरोपमा मुख्य कसुरदारसरह बिगो कायम गरी सजाय गर्न पनि आयोगले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्: