
विराटनगर चैत्र ७, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ मा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्।
यादवले १११८ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रोज्ज्वल विष्ट (हक्कु) लाई पराजित गरेका हुन्। विष्टले १०७६ मत ल्याए । निर्वाचनमा कुल २६३१ मत खसेको थियो।
यसैगरी, सचिव पदमा नेपाल विद्यार्थी संघकी सुचित्रा थापा मगर र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा गौतम कुमार मण्डल, मो साहिन, कौशलकुमार साह (तेली), सुसान्त खसैत, नविन बाबु तिवारी, राशिक सुवेदी, एन्जिला काफ्ले, र रामबत कुमार मेहता रहेका छन्।
निर्वाचन गत मंगलबार सम्पन्न भएको थियो। आगामी कार्यकालका लागि नवनिर्वाचित पदाधिकारीहरूले विद्यार्थीहरूको हित र क्याम्पसको विकासमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
मकवानपुर चैत्र ६, अनेरास्ववियु मकवानपुरले जिल्ला अध्यक्ष अमृत बर्तौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रभावशाली नतिजा निकाल्दै विद्यार्थी राजनीतिमा आफ्नो मजबुत उपस्थिति देखाएको छ। जिल्लाका प्रमुख क्याम्पसहरूमा भएको निर्वाचनमा अखिलले विभिन्न पदमा विजय हासिल गर्दै विद्यार्थी हक, हित, अधिकार र मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। मकवानपुर बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मतसहित अध्यक्ष पदमा जित हात पारेका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरे। लामा अघिल्लो कार्यकालमा स्ववियु अध्यक्ष थिए, भने रेग्मी त्यसै कार्यसमितिका सदस्य थिए । हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभी मैनालीले २५१ मतसहित प्यानल जित हासिल गरे। बंश गोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल निर्विरोध निर्वाचित भए, जबकि निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी ५३ मतसहित प्यानल विजयी भए। विद्यार्थीका हक, हित र अधिकारप्रति प्रतिबद्धता अध्यक्ष बर्तौलाले यस जितलाई विद्यार्थी आन्दोलनको सफलता भन्दै अब संगठन अझ सशक्त भएर अघि बढ्ने बताएका छन् । उनले भने, “विद्यार्थीहरूको अधिकार रक्षा, गुणस्तरीय शिक्षा, उचित शुल्क संरचना, छात्रवृत्ति कार्यक्रम, पूर्वाधार विकास, विद्यार्थी रोजगारी र सीपमूलक शिक्षाको सुनिश्चितताका लागि हाम्रो संगठन निरन्तर संघर्ष गर्नेछ।” बर्तौलाले निजी शिक्षालयहरूले विद्यार्थी शोषण गर्ने प्रवृत्तिको विरोध गर्दै सरकारी क्याम्पसहरूमा सुविधाको विस्तार आवश्यक रहेको बताए। उनका अनुसार, उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेछ। स्ववियु नेताहरूले सिट क्षमताअनुसार भर्ना नीति, पुस्तकालय तथा प्रयोगशालाको विस्तार, कलेज यातायात सेवा सुधार, खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवद्र्धनजस्ता विषयलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्। यो निर्वाचनले मकवानपुरका विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थपेको छ। विद्यार्थी मुद्दाहरूमा सशक्त आवाज उठाउँदै संगठनहरूले प्रतिस्पर्धी नतिजा निकालेका छन्, जसले आगामी दिनमा विद्यार्थी सरोकारका विषयहरूलाई अझ मजबुत रूपमा अघि बढाउने संकेत दिएको छ।
नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।
समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के.सी. र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा. के. हरिकृष्णनले हस्ताक्षर गर्नु भएको छ । सहायक प्राचार्य के.सी.ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताउनु भयो ।
‘विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरुसँग हाम्रो सहकार्य भइरहेको हुन्छ । त्यसै अनुरुप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’ नेकका सहायक प्राचार्य के.सी.ले बताउनु भयो ।
जे एस जे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालय अन्तरगतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ । विगत १० वर्षदेखि कलेजले विश्वब्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।
उक्त मओयू कार्यक्रमको संयोजन इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख इ. सह–प्राध्यापक सचिन श्रेष्ठले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: