कालिकोटमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा

२०८३ आश्विन ८

काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा चलाएको छ।

आयोगका अनुसार खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नम्बर १७७२ तथा सरकारी प्रकृतिका कित्ता नम्बर ५७२ र ९२१ का जग्गा भूमि सम्बन्धी कानुनविपरीत विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेको छ।

आयोगले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बमसहितका पदाधिकारी र मालपोत कार्यालय कालिकोटका तत्कालीन कर्मचारीको मिलेमतोमा कानुनी प्रक्रिया पूरा नगरी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको जनाएको छ। आयोगका अनुसार जग्गा सिफारिस गर्दा स्थलगत निरीक्षण नगरेको र नगर क्षेत्रमा कृषि प्रयोजनका लागि तोकिएको १३० वर्गमिटरको सीमाभन्दा बढी क्षेत्रफलको जग्गा उपलब्ध गराइएको थियो।

आयोगले अध्यक्ष धिरबहादुर बम, विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्रबहादुर थापा र मालपोत कार्यालयका तत्कालीन प्रमुख नेत्रबहादुर शाहीविरुद्ध जनही १ करोड ७६ लाख ८६ हजार ८०० रुपैयाँ बिगो कायम गरेको छ। यस्तै तत्कालीन कार्यवाहक वडा अध्यक्ष भरतबहादुर शाहीविरुद्ध १ करोड ९४ हजार ४०० रुपैयाँ तथा मालपोतका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत र कार्यालय सहयोगी भक्तबहादुर शाहीविरुद्ध जनही ७५ लाख ९२ हजार ४०० रुपैयाँ बिगो कायम गरिएको छ।

त्यस्तै कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने अंखपुरा शाहीविरुद्ध ४३ लाख ८८ हजार ४००, कित्ता नम्बर ५७२ का जग्गा प्राप्तकर्ता प्रदिपे दमाईविरुद्ध ५७ लाख ६ हजार र कित्ता नम्बर ९२१ का जग्गा प्राप्तकर्ता दिपबहादुर शाहीविरुद्ध ७५ लाख ९२ हजार ४०० रुपैयाँ बिगो कायम गरी विभिन्न कसुरमा सजायको मागदाबी गरिएको छ।

आयोगले कित्ता नम्बर ९२१ को जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापालाई भने उक्त जग्गा जफत गरी पूर्ववत् रूपमा नेपाल सरकारको नाममा कायम गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको जनाएको छ। मालपोत कार्यालयका तत्कालीन सहायक कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाहीविरुद्ध भने बिगो नतोकी कैद र जरिवानाको मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: