काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व अहिले युद्ध, असमानता, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईका कारण चार ठूला चुनौतीको सामना गरिरहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय बहस उद्घाटन गर्दै गुटेरेसले विश्वमा रहेका विभाजन झन् गहिरिँदै गएको भन्दै चिराहरू अब खाडल बनिसकेको बताएका छन् । उनले विश्वका विभिन्न संकट अलग–अलग नभई शक्ति कसरी प्रयोग भइरहेको छ भन्ने मूल समस्यासँग जोडिएको बताए ।
गुटेरेसले शान्ति तथा सुरक्षा अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताए । शान्ति भनेको युद्ध नहुनु मात्र नभई अन्तर्राष्ट्रिय कानुनअनुसार शक्तिको प्रयोगमा संयम कायम गर्नु पनि भएको उल्लेख गरे । उनले विश्वका नेताहरूलाई तनाव घटाउन, संवाद अघि बढाउन, युद्ध रोक्न र प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा पुर्याउन आग्रह गरे ।
मध्यपूर्व र गाजाको अवस्थाबारे बोल्दै गुटेरेसले ७ अक्टोबरको हमास आक्रमणपछि गाजामा भएको इजरायली सैन्य कारबाहीबाट ठूलो मानवीय क्षति र विनाश भएको बताए । अन्तर्राष्ट्रिय अदालतका आदेश र अन्तर्राष्ट्रिय कानुन सबै पक्षले पालना गर्नुपर्नेमा उनले जोड दिए । विश्वमा जारी हिंसा, विस्थापन र बस्ती विस्तारले शान्तिको सम्भावना थप कमजोर बनाइरहेको भन्दै उनले प्रभावकारी समाधानको आवश्यकता रहेको औंल्याए ।
गुटेरेसले दोस्रो ठूलो चुनौतीका रूपमा विश्वमा बढिरहेको असमानता र शक्तिको असन्तुलनलाई औँल्याए । नयाँ राष्ट्रशक्तिको उदयसँगै सरकारबाट निजी कम्पनी र व्यक्तितर्फ समेत प्रभाव तथा शक्ति सर्दै गएको उनले बताए । विश्वका समस्या समाधान गर्न केही शक्तिशाली देश मात्र पर्याप्त नहुने भन्दै सबै देशको सहभागितामा आधारित बहुपक्षीय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
तेस्रो चुनौती जलवायु परिवर्तन रहेको गुटेरेसले बताए । जलवायु संकट भविष्यमा आउने समस्या नभई अहिले नै मानिसको दैनिक जीवनमा देखिन थालेको उनले बताए । जलवायु परिवर्तनले गरिबी, विस्थापन र असमानता थप बढाइरहेको भन्दै उनले तत्काल प्रभावकारी कदम चाल्न विश्व समुदायलाई आग्रह गरे ।
चौथो चुनौतीका रूपमा उनले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई प्रस्तुत गरे । एआईले मानव जीवनमा ठूलो सम्भावना ल्याए पनि उचित नियम, पारदर्शिता र अन्तर्राष्ट्रिय सहकार्य नभए गम्भीर जोखिम निम्तिन सक्ने उनले बताए । मानिसको जीवन र मृत्यु निर्धारण गर्ने निर्णय मेसिनको हातमा छाड्न नहुने भन्दै एआईको सुरक्षित र जिम्मेवार प्रयोगका लागि अन्तर्राष्ट्रिय नियम आवश्यक रहेकोमा उनले जोड दिए ।
गुटेरेसले संयुक्त राष्ट्रसंघको संरचनामा सुधारको आवश्यकता पनि औँल्याए । बदलिँदो विश्व शक्ति संरचनाअनुसार संयुक्त राष्ट्रसंघलाई थप प्रतिनिधिमूलक र प्रभावकारी बनाउनुपर्ने भन्दै उनले सुरक्षा परिषद्मा अफ्रिकाको स्थायी प्रतिनिधित्वको प्रश्न सम्बोधन गर्नुपर्ने बताए ।
आफ्नो कार्यकालको अन्तिम चरणमा महासभालाई सम्बोधन गर्दै गुटेरेसले विभाजन र प्रभुत्वभन्दा साझा भविष्य निर्माणमा विश्व समुदायले ध्यान दिनुपर्ने बताए । सबैका लागि काम गर्ने भविष्य निर्माण गर्न बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय संस्थाप्रतिको विश्वास पुनस्र्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्: