भूकम्प जोखिम न्यूनीकरण एवम् पूर्व तयारीमा जोड दिन आवश्यक छः आयोग

२०८० माघ १६

मन कुमार न्यौपाने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नाग नागरिकहरुलाई भूकम्प जोखिम न्यूनीकरण एवम् पूर्व तयारीमा जोड दिन आग्रह गरेको छ । नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाइन र निर्माण गर्न समेत आयोगले अनुरोध गरको छ । आयोगले २६औं राष्ट्रिय भूकम्प दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै सबै प्रकारका विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि एकजुट भई अगाडी बढ्न सुझाव दिएको हो ।

‘आयोगले २०७२ सालको विनासकारी भूकम्प तथा हालै जाजरकोटमा गएको भूकम्पको क्रममा भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाबारे अनुगमन गरी नेपाल सरकार तथा सरोकारवालालाई सिफारिस गरेको छ । हालैको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनाको क्षति भएको छ ।’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले नेपाल भूकम्पीय दृष्टिकोणले अति संवेदशील र जोखिमयुक्त देशको रुपमा रहेको जिकिर गर्दै यस अवस्थालाई मध्येनजर गरी नेपाल सरकारबाट विभिन्न आवधिक योजना, वार्षिक कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु सञ्चालन, जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना एवम् कार्यक्रमहरु हुँदै आइरहेको समेत बताइएको छ ।

‘भूकम्प पूर्वजोखिम न्यूनीकरण कार्यमा सरकारको पर्याप्त ध्यान पुग्न नसक्नु र भूकम्पपश्चात् राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा विभिन्न निकाय बिच प्रभावकारी समन्वय हुन नसक्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको साथै भौतिक सम्पत्तिको क्षति व्यहोर्नुपरेको आयोगले यस अघि गरेको अनुगमनबाट देखिएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

अतः भूकम्प लगायतका विपद्बाट मानवीय एवम् भौतिक क्षतिको न्यूनीकरणका लागि पूर्व तयारी, राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सबै निकाय बिच प्रभावकारी समन्वय र सहकार्य गरी व्यक्तिको जीवनको अधिकारका साथै आवासको अधिकारको संरक्षण गर्न आयोग तीनै तहका सरकारलाई आयोगले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: