टेकुको बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याइने

२०८३ श्रावण १९

काठमाडौं । काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच टेकुमा रहेको बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याउने सम्झौता भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सहरमा उत्पादन हुने कुहिने फोहरलाई व्यवस्थित गर्दै त्यसबाट ऊर्जा र जैविक मल उत्पादन गर्ने उद्देश्यले प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो । कार्यवाहक प्रमुख डंगोलले प्लान्ट पुनः सञ्चालन गर्नु मात्र नभई यसलाई दीर्घकालीन रूपमा चलाउनु महत्वपूर्ण रहेको बताइन् ।

टेकुको बायोग्याँस प्लान्ट निर्माणको काम २०७२ सालमा शुरु भएको थियो भने २०७५ सालदेखि सञ्चालनमा आएको थियो । दैनिक ३ मेट्रिक टन जैविक फोहरबाट १४ किलोवाट विद्युत्, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । प्लान्ट निर्माणमा महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।

महानगरपालिकाका अनुसार प्राविधिक समस्याका कारण लामो समयदेखि सञ्चालनमा आउन नसकेको प्लान्ट पुनः सञ्चालनका लागि केन्द्रले आवश्यक उपकरण खरिद, जडान र परीक्षण गर्नेछ । त्यसपछि प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन र मर्मतसम्भारका लागि बजेट व्यवस्थापन गर्नेछ भने योग्य जनशक्ति वा सञ्चालक छनोट गरी व्यावसायिक रूपमा सञ्चालन गर्ने योजना बनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि कुहिने फोहरको व्यवस्थापन सहज हुने, बञ्चरेडाँडा पुग्ने फोहरको मात्रा घट्ने तथा फोहरबाट ऊर्जा र मल उत्पादन गरी आम्दानीसमेत बढाउन सकिने महानगरपालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: