काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगबाट ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ।
विभागमा प्राप्त उजुरीका आधारमा साउन १५ गते भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रालि’ मा गरिएको अनुगमनका क्रममा गुणस्तर मापदण्डविपरीत दूध उत्पादन तथा बिक्रीका लागि राखिएको भेटिएपछि उक्त परिमाणको दूध नष्ट गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उद्योगबाट संकलन गरिएको दूधको नमुना प्रयोगशालामा परीक्षण गर्दा फ्याट २.४ प्रतिशत र एसएनएफ (सोलिड–नट–फ्याट) ७.८ प्रतिशत मात्र भेटिएको थियो, जुन प्रचलित मापदण्डभन्दा कम हो। परीक्षणबाट दूध न्यूनस्तरको पुष्टि भएपछि ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, विभागले सोही दिन कागेश्वरी मनोहरा–७ स्थित ‘ए वान पोलीमर एण्ड वेभेरेज प्रालि’ मा पनि अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा उद्योगको भौतिक पूर्वाधारमा समस्या देखिएको, टायल फुटेको तथा बाह्य सरसफाइ व्यवस्थित नभएको पाइएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: