
काठमाडौं । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा निर्वाचन अधिकृत डा। सुशीलकुमार अधिकारीलाई बुधबार मध्यान्ह बजे कोठामै थुनेर आगो लगाए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गर्यो ।
प्रहरीले आगजनी गर्ने चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
उनीहरूले आगजनी गर्नु र निर्वाचन अधिकृतलाई थुन्नुको कारण भने नेविसंघको आधिकारिकताको विवाद हो । काँग्रेस निकट नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूह छन् । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि दुईवटा नेविसंघ दर्ता भएका थिए । तर, निर्वाचन समितिले मंगलबार राति केन्द्रले दिएको आधिकारिताको चिठी लिएर गएपछि देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वल विष्टको समूहलाई नै आधिकारिक मान्दै चुनावी समूहको नाम सार्वजनिक गर्यो । जसमा कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्यसमेत योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइयो । त्यसपछि आक्रोशित बनेका उनीहरूले निर्वाचन अधिकृत अधिकारीलाई थुन्ने र निर्वाचन कार्यालयमा आगो लगाउने काम गरेका हुन् ।
नेविसंघको दुई गुटको अराजकता यसअघि पनि देखिँदै आएको थियो । गत फागुन १५ गते नेविसंघको संस्थापन गुटले शेखर गुटका विद्यार्थी नेताहरूमाथि हातहतियारसहित आक्रमण गरेका थिए । नेविसंघका नेता समेत रहेका क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी र नेविसंघकै सदस्यहरू महमद सलमानलगायतले नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई आक्रमण गरेका थिए ।
हाफ ज्याकेटको भित्री गोजीमा राखेको छोटो बिँड भएको वञ्चरो निकालेर त्यहाँ पुगेका सभापति पौडेलसहितले सरोजलाई घाइते हुने गरी आक्रमण गरेका थिए । त्यसबेला पोखरेलसहित र चुले भाइ भनिने आयुष दाहाल, गुड्डु साह, पूजा विश्वास, प्रशान्त यादव र सुविक्षा थापा मगर घाइते भएका थिए ।
यसरी झगडा हुनुमा त्यहाँ कुनै कारण थिएन । नेपाल विद्यार्थी संघकै शेखर कोइराला समूह क्याम्पस इकाई गठन गर्न त्यहाँ पुगेको थियो । उनीहरूले आफ्नो समूहबाहेकलाई त्यहाँ इकाई कमिटी बनाउन नदिने तयारीमा थिए । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन आगामी चैत ५ गतेका लागि तोकेको छ ।
क्याम्पसका विद्यार्थीको भनाइ अनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबिच विवाद झनै बढेको हो । ‘यो क्याम्पसमा नेविसंघले यसअघि पनि बहुमत जितेको हो । अहिले पनि बहुमत जिताएर बिदा हुन चाहन्छु,’ स्ववियु सभापति पौडेलले भने, ‘तर, यहाँ पूर्व मुख्यमन्त्रीहरूले अनावश्यक हस्तक्षेप र चलखेल गरेर नेविसंघलाई हराउन खोजिरहनु भएको छ । मुख्यमन्त्री भइसकेको व्यक्तिले कलेजमा डिस्टर्ब गर्ने काम भइरहेको छ ।’ उनले पूर्व मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै भने, ‘यस्तो काम नहोस् म उहाँलाई चेतावनी दिन चाहन्छु ।’
क्याम्पस प्रशासनले भने निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । विद्यार्थी संगठनहरूबिच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । उक्त क्याम्पसमा विभिन्न १९ वटा समूहले स्ववियु निर्वाचनमा भाग लिँदैछन् । क्याम्पसमा ५ हजार ५ सय जना मतदाता विद्यार्थी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: