इतिहास : सोह्रसय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा, समाप्त गर्ने योजनाको रहस्य खुल्यो

२०८१ भाद्र २४

पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा हडपिएको प्रकरणमा अरुण चौधरीकी पत्नी शिला चौधरी समेत मुछिएकी छन् । गुठी र सरकारी जग्गा हडप्ने हिमालयन इन्टरप्राइजेजको अध्यक्ष रहेका कारण अरुणकी पत्नी शिला समेत यो प्रकरणमा मुछिएकी हुन् ।
सरकारी जग्गा हिनामिना तथा जालसाजी मुद्दामा अब शिला पनि कारवाहीको भागिदार हुने गवा गुठीका कानून व्यवसायीले बताएका छन् । मालपोत कार्यालय ललितपुरले सर्वोच्च अदालतको आदेशलाई देखाएर अरुण चौधरी संस्थापक अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नामा जग्गा दर्ता गरिदिएको थियो ।
२०२१ मा पर्ति जग्गा हुँदै २०५२ सालमा नेपाल सरकारको नाममा रहेको जग्गा आफ्नो कम्पनीका नाममा ल्याएको भन्दै चौधरी घरानाले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका मामा माइचा महर्जनसहित ११ जनालाई १९ आना र अदालती वारेस समेतलाई जग्गा बक्सिस दिएको रहस्य यसअघि खोलिसकेको छ ।
गवा गुठीका गुठीयारहरुले तत्कालीन श्री ५ को सरकार र हाल नेपाल सरकारको नाममा रहेको सगोल ४३ नम्बर कित्ता अन्तर्गतको ४ रोपनी ४ आना १ पैसा जग्गा पूर्ववत अवस्थामा फर्काइनु पर्ने अडान राखेका छन् । चौधरी ग्रुपले जग्गा पचाउन प्रतिरक्षाको रणनीति लिएको छ ।
गृहमन्त्रालयको परिपत्रअघिको एउटा तथ्याङ्कले काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा मिचिएको र जसमा ५ हजार जना सामेल भएको खुलासा भएको थियो । त्यो संख्या अझै बढेर जाने अनुमान गरिएको छ ।
१६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको रहस्य खुलेको छ ।
२०२१ सालको नापी अनुसार ४३ नम्बर नम्बर कित्तामा रहेको ञवाल देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा २०६६ सालपछि ५ टुक्रा पारेर कब्जा गरिएको छ । उक्त सरकारी जग्गा अहिले विनोद चौधरीका भाइ अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा छ ।
यो जग्गा कसबाट ? कसरी चौधरी समूहले हत्यायो भन्ने झन् रहस्यपूर्ण छ । गुठी संस्थान ललितपुर शाखालाई मालपोत कार्यालय ललितपुरले पठाएको श्रेस्ता उतारको प्रतिलिपिबाट सगोलको ४३ नम्बर कित्ता पर्ति जग्गा हो भन्ने प्रमाणित हुन्छ भने हाल त्यसको भोगाधिकारी अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेज हो भन्ने पनि देखिन्छ । तर, यो जग्गाको मोही वा तल्सिङ् कोही देखिँदैन । तत्कालीन वडा सचिव बाबु राजा डंगोलले गुठीयारहरुलाई बोलाएर गरेको सर्जमिनबाहेक यो जग्गा किनबेचमा मोही वा तल्सिङ देखिँदैन ।
गवाल गुठियारहरुका अनुसार पहिले शंकरशमशेर जबराले यो जग्गा आफ्नो भएको जिकिर गर्थे । तर, २०५८÷०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ति भएको मातपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ ।
सीजी समूहको कर्पोरेट कार्यालय पुग्न झण्डै १०० मिटर अगाडि नै पर्ने गवालहरुको कुल पूजा गर्ने देवस्थल भएको जग्गा विनोद चौधरीको डिजाइनमा अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजले कब्जा गरेको हो । ललितपुरका तत्कालीन मेयर बुद्धीराज बज्राचार्यलाई चौधरी समूहले आठ आना जग्गाको अफर दिएका कारण पनि यसको मुख्य डिजाइनर विनोद चौधरी नै भएको पुष्टि हुन्छ । तत्कालीन मेयर बज्राचार्यले एउटै कित्तामा रहेको ४३ नम्बरको ४ रोपनी ४ आना १ पैसा जग्गा पर्ति नै रहेको पुष्टि हुने थुप्रै प्रमाणहरु रहेको बताएका छन् ।
नजिकै ललितपुर महानगरको ३ नम्बर वडा कार्यालय छ । वडा कार्यालय छेउको सरकारी जग्गासँगै चौधरी समूहको हाउजिङ बन्दैछ । त्यो हाउजिङ पुग्नु अगावैको जग्गामा ञवालहरुको कुल देवताको देवस्थल छ । जुन अहिले साँघुरो टुक्रामा खुम्चिएको छ । अरुण चौधरीले आफ्ना कानून व्यवसायी र प्रतिनिधि पठाएर पटक–पटक कुलदेवता हटाउन भनिरहेका छन् । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन भने मौन छन् । संयोगले पहिले ३ नम्बर वडाको वडाध्यक्ष भएका चिरिबाबु अहिले मेयर भएर पनि केही गर्न सकिरहेका छैनन् । चौधरी समूहकासामु चिरिबाबु चुइँक्क बोल्दैनन् ।
गवाल गुठीयारहरु भने यसको छानविनका लागि गुठी संस्थान, मालपोत र नापी कार्यालयबाट कागजात संकलन गरेर गृहमन्त्रीलाई भेट्ने तयारीमा छन् । केही दिन अघि मात्रै गृहमन्त्रालयले देशभर अतिक्रमणमा परेका सरकारी जग्गाको विवरण पठाउन भनी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको थियो ।
चौधरी समूहले ललितपुरको कुनै एक ठाउँमा मात्र नभई भिन्नभिन्न ठाउँमा सरकारी जग्गा हडपेर व्यापारिक भवन तथा संरचनाहरु बनाएको तथ्य बीमापोष्टले निरन्तर उजागर गरिरहेको छ । पुल्चोकमा रहेको गवाल देवाली गुठीको जग्गामा रातो मत्स्येन्द्रनाथको रथ बनाउन सुरु गर्नु भन्दा पहिले विधिपूर्वक ‘रक्षा’ पूजा गर्ने प्रचलन छ । ञवालहरुको कुल देवतास्थल रहेका कारण चौधरी समूहले त्यो ठाउँमा व्यापारिक भवन बनाइसकेको छैन । तर, अन्य पाँचवटा कित्तामा विभिन्न संरचनाहरु बनाएर भाडामा दिइएको छ ।
सर्वोच्च अदालतले २०६२ कार्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशको जगमा २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिएको छ ।
सो जग्गालाई हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ । अरुण चौधरी पक्षले श्रीधरशमशेर जबराको हुने सर्वोच्चको फैसला बमोजिमको उक्त जग्गा हिमालयन इन्टरप्राइजेज प्रालिको भएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: