दसैं मनाउन नौ दिनमै दुई लाखभन्दा बढी फर्किए गाउँ

२०८३ आश्विन २६

काठमाडौं । बडादसैं नजिकिएसँगै राजधानी काठमाडौंमा अध्ययन, रोजगारी र विभिन्न व्यवसायमा संलग्न मानिसहरू चाडपर्व मनाउन आफ्नो घर फर्किने क्रम तीव्र बनेको छ । काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको छ ।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १७ देखि २५ गतेसम्मको नौ दिनमा मात्रै दुई लाख सात हजार २५१ यात्रुले बसपार्कबाट काठमाडौं छाडेका छन् । दसैंका अवसरमा परिवार र आफन्तसँग भेटघाट गर्न घर जाने यात्रुको सङ्ख्या बढेसँगै बसपार्कमा चहलपहलसमेत बढेको छ ।

उक्त अवधिमा असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३० र १९ गते २३ हजार १६ यात्रु बाहिरिएका थिए । त्यसैगरी असोज २० गते २९ हजार ६०२, २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१ र २३ गते ३१ हजार २३५ यात्रुले काठमाडौं छाडेका थिए । असोज २४ गते १६ हजार ९७० तथा २५ गते २९ हजार ३८० यात्रु बाहिरिएको तथ्याङ्क छ ।

यात्रुको चाप बढिरहेका बेला सडक अवरोधले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ । धादिङको गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग भासिएपछि असोज २३ गतेदेखि सवारी आवागमन प्रभावित भएको थियो । अग्रिम टिकट बुकिङ सुरु भएकै दिन सडक अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए ।

सडकको अवस्थाका कारण गन्तव्यतर्फ जाने सवारीसाधनको व्यवस्थापनमा कठिनाइ भएको यातायात व्यवसायीहरूले बताएका छन् । दसैंमा घर जाने यात्रुको चाप बढ्ने समयमा सडक अवरोध हुँदा यात्रुको यात्रा प्रभावित हुनुका साथै सवारीसाधनको परिचालनमा समेत समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: