कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीमा को–को भए निर्वाचित?

२०८३ आश्विन २६

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी भएका छन्।

उपसभापतिको खुलातर्फ चन्द्र भण्डारीले सबैभन्दा बढी ३ हजार ७३५ मत प्राप्त गरे। मधु आचार्य २ हजार ३४२ मतसहित निर्वाचित भए। समावेशी उपसभापतिमा विनोद चौधरीले १ हजार ७४५ मत ल्याउँदै जित हासिल गरे।

खुला उपसभापतिमा प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत पाए। समावेशी उपसभापतिका अन्य उम्मेदवार जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरे।

महामन्त्री पदमा खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी भए। उदयशम्शेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै अर्को खुला महामन्त्री पदमा जित हासिल गरे। महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन्।

खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे। महिला महामन्त्रीमा प्रतिस्पर्धा गरेका महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत पाए।

कांग्रेसमा महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। संशोधित विधानअनुसार पार्टीमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्: