काठमाडौं । दसैँमा घर फर्किने यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा असुल्नेलाई कारबाही गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भाडादरभन्दा बढी रकम नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी रकम लिएको पाइएमा सम्बन्धित सवारीसाधनमाथि कारबाही हुने बताए । दसैँलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।
यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–सङ्गठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच समन्वय गरी अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको हो ।
महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन जारी गरेको जनाएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ भने यात्रुसँग शिष्ट व्यवहार गर्दै सहज र सुरक्षित रूपमा टिकट उपलब्ध गराउनुपर्नेछ ।
दसैँको चाप व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । यद्यपि खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने आवागमनमा रोक नलगाइने व्यवस्था गरिएको छ ।
यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ । सडकको भौगोलिक अवस्था तथा विशेष प्रकृतिका कारण निश्चित आकार र प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख प्रवेश नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षलाई थप प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ । महासंघले पनि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा प्रतिनिधि तथा कर्मचारी परिचालन गरी यात्रु सहजीकरणको जिम्मेवारी तोकेको छ ।
यसैबीच, दसैँमा लामो दूरीको यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी परिचालन गरी गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: