घुस सहित समातिएका नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ आश्विन २१

काठमाडौं । नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने काममा सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै घुस मागेका थिए। यससम्बन्धी सूचना र उजुरीपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा साहले नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गर्ने काममा आलटाल गर्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरेको छ। आयोगले सोही रकम बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गर्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्: