काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार, विज्ञ तथा स्वकीय समूहको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयमा कार्यरत २५ जनाको नाम, पद, जिम्मेवारी र सेवासुविधासहितको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको सचिवालयमा पाँचजना सल्लाहकार छन् । तीमध्ये दुईजना मन्त्रीसरह र तीनजना राज्यमन्त्रीसरहको हैसियतमा छन् । कुमार ब्यञ्जनकार मुख्य सल्लाहकार र असिम शाह राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन् । दुवैलाई मन्त्रीसरहको सुविधा तोकिएको छ । यद्यपि मुख्य सल्लाहकार ब्यञ्जनकारले भने अवैतनिक रूपमा जिम्मेवारी सम्हालेका छन् ।
राज्यमन्त्रीसरहको सेवासुविधा पाउने सल्लाहकारमा सुदीप ढकाल र विवेक मिश्र छन् । ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार हुन् भने मिश्र सूचना तथा प्रविधि सल्लाहकारका रूपमा कार्यरत छन् । त्यस्तै, प्रा.डा. जगदीशप्रसाद अग्रवाल विज्ञ सल्लाहकारका रूपमा छन् । उनी स्वास्थ्य सल्लाहकार हुन् र अवैतनिक रूपमा काम गरिरहेका छन् ।
प्रधानमन्त्रीको स्वकीय समूहमा सचिवसरहको सेवासुविधा पाउने गरी सुवास शर्मा प्रमुख स्वकीय सचिव छन् । सहसचिवसरहको सेवासुविधा पाउने पाँचजनामध्ये स्वकीय सचिव नवीन भण्डारी छन् । स्वकीय सहसचिवका रूपमा विकास परियोजना हेर्ने सञ्जीव पाण्डे र प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल छन् । कार्यक्रम तथा भ्रमण संयोजकको जिम्मेवारी सन्तोष गिरीले पाएका छन् भने सामाजिक विकास विज्ञका रूपमा विश्व राई कार्यरत छन् ।
त्यसैगरी, उपसचिवसरहको नियुक्ति पाउने पाँचजनामा प्रकृति ढकाल र विशाल अधिकारी स्वकीय उपसचिवका रूपमा छन् । नागरिक उड्डयन हेर्ने सहायक विज्ञमा सुमन गौतम र भाषा तथा मस्यौदासम्बन्धी जिम्मेवारीमा रविकिरण अधिकारी छन् । विनय शाक्य पनि स्वकीय उपसचिवसरहको सेवासुविधामा कार्यरत छन् ।
शाखा अधिकृतसरहको सेवासुविधा पाउने चारजनामा प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं, ग्राफिक्स डिजाइनर रोशन तामाङ, बेदानन्द जोशी र हेमनारायणदास चौधरी छन् । उनीहरूलाई स्वकीय शाखा अधिकृतसरहको जिम्मेवारी दिइएको छ ।
यस्तै, नायब सुब्बासरहको सेवासुविधा पाउने गरी प्रशासन सहायकमा अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम र बेनिस कार्की तथा कम्प्युटर सहायकमा अमृत पाण्डे कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्: