काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामाजिक सञ्जाल, फिनफ्लुएन्सर तथा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगबाट फैलाइने गलत सूचना, भ्रामक प्रचार र ठगीबाट सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ। पछिल्लो समय एआईबाट तयार गरिएका भिडियो तथा अडियो, डीपफेक, आवाजको नक्कल र कृत्रिम पहिचानमार्फत लगानीकर्तालाई प्रभावित पार्ने तथा भ्रममा पार्ने गतिविधि बढ्न सक्ने भन्दै बोर्डले यस्ता सामग्रीका आधारमा लगानीसम्बन्धी निर्णय नगर्न सचेत गराएको हो।
विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा लगानीकर्ताका लागि विभिन्न सन्देश सार्वजनिक गर्दै बोर्डले सामाजिक सञ्जालमा भाइरल बनाइएका लगानीका अवसर, फिनफ्लुएन्सरले गरेका सिफारिस तथा विभिन्न अनलाइन समूहमा प्रचार गरिएका सामग्रीलाई आधिकारिक सूचना नमान्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा आएका अनुमान, प्रक्षेपण, व्यक्तिगत धारणा वा लगानीसम्बन्धी सिफारिस विज्ञापन, प्रचार वा व्यक्तिगत स्वार्थबाट प्रेरित हुन सक्ने भएकाले आधिकारिक स्रोतबाट सूचना पुष्टि गरेर मात्र लगानीको निर्णय लिनुपर्ने बोर्डको भनाइ छ।
बोर्डका अनुसार फेसबुक, एक्स, क्लब हाउस, टिकटक, युट्युब तथा इन्स्टाग्रामलगायतका माध्यमबाट आउने सामग्रीलाई मात्रै आधार बनाएर लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ। विशेषगरी ‘फिनफ्लुएन्सर’का रूपमा प्रस्तुत हुने व्यक्तिले अत्यधिक प्रतिफलको दाबी गर्दै गरेका सिफारिस तथा प्रचार गरेर भाइरल बनाइएका लगानीका अवसरबाट लगानीकर्ता थप सावधान हुनुपर्ने बोर्डले जनाएको छ।
एआई प्रविधिको तीव्र विस्तारसँगै लगानीकर्तालाई लक्षित गरेर डीपफेक भिडियो, आवाजको नक्कल, कृत्रिम पहिचान तथा एआईबाट तयार गरिएका अन्य सामग्री प्रयोग गरी ठगी गर्ने जोखिमसमेत बढ्न सक्ने बोर्डले औंल्याएको छ। अत्यधिक फाइदा हुने ग्यारेन्टी दिने, तत्काल निर्णय गर्न दबाब दिने वा असामान्य प्रतिफलको प्रलोभन देखाउने व्यक्ति तथा सामग्रीप्रति विश्वास नगर्न बोर्डले आग्रह गरेको छ। लगानीका अवसर आफैं अनुसन्धान गर्न, निर्णयमा हतार नगर्न र अरूको देखासिकी तथा लहलहैमा लागेर लगानी नगर्नसमेत बोर्डको सुझाव छ।
विश्वभरका धितोपत्र बजार नियामक निकायको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन्स (आईओएससीओ)को आह्वानमा सन् २०१७ देखि हरेक वर्ष विश्व लगानीकर्ता सप्ताह मनाइँदै आएको छ। नेपाल धितोपत्र बोर्डले आईओएससीओको एसोसिएट सदस्यका रूपमा सन् २०१७ देखि नै यो कार्यक्रम मनाउँदै आएको छ। यस वर्षको विश्व लगानीकर्ता सप्ताह असोज १९ देखि २५ गतेसम्म मनाइँदै छ। ‘इन्भेस्ट इन योर फ्युचर, प्रोटेक्ट इट टुडे’ अर्थात् ‘आफ्नो भविष्यमा लगानी गरौं, आजै त्यसको सुरक्षा गरौं’ भन्ने मुख्य नारासहित आयोजना भइरहेको सप्ताहमा लगानीकर्ताको क्षमता अभिवृद्धि, डिजिटल ठगी, ठगीसम्बन्धी सचेतना, लगानीका आधारभूत विषय तथा युवा र नयाँ पुस्तालाई मुख्य विषय बनाइएको छ।
बोर्डले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, स्टक डिलर्स कम्पनी तथा क्रेडिट रेटिङ कम्पनीसँगको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यस क्रममा देशभर अन्तरक्रिया तथा तालिम आयोजना गर्नुका साथै पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत लगानीकर्ता सचेतना अभियान सञ्चालन गरिनेछ।
बोर्डले नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई लगानीको सुरुवात गर्नुअघि नियमित बचत गर्ने र विवेकपूर्ण लगानी निर्णय गर्ने बानी विकास गर्न सुझाव दिएको छ। लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै बोर्डले सुरुवातमा प्राथमिक बजारमा अंकित मूल्यमा निष्कासन भएका धितोपत्र वा सामूहिक लगानी कोषका योजनाबाट लगानी सुरु गर्न सकिने जनाएको छ।
प्राथमिक बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको आह्वानपत्र तथा विवरणपत्र राम्रोसँग अध्ययन गर्नुपर्ने बोर्डको भनाइ छ। कम्पनीका संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय अवस्था, क्रेडिट रेटिङलगायतका विषयको अध्ययन गरेर मात्र लगानीसम्बन्धी निर्णय लिनुपर्नेमा बोर्डले जोड दिएको छ।
त्यस्तै, लगानीकर्ताले आफ्नो प्रतिफलको लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमता मूल्यांकन गरेर सानो बचतबाट लगानी सुरु गर्नुपर्ने बोर्डले जनाएको छ। दोस्रो बजारमा लगानी गर्दा कम्पनीले आधिकारिक रूपमा प्रकाशित गरेका वित्तीय विवरण, कार्यसम्पादन अवस्था, मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना, कम्पनीका भावी योजना, आवधिक तथा वार्षिक प्रतिवेदन, सेयरको मूल्य प्रवृत्ति तथा सम्बन्धित उद्योग र क्षेत्रको अवस्थालाई समेत ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
बोर्डले उच्च लागतको ऋण लिएर सेयर बजारमा लगानी नगर्न पनि लगानीकर्तालाई आग्रह गरेको छ। ऋण लिएर गरिएको लगानीले दीर्घकालीन वित्तीय अवस्थामा नकारात्मक असर पार्न सक्ने भएकाले सम्भव भएसम्म ऋणबाट लगानी नगर्न बोर्डको सुझाव छ। लगानीकर्ताले आफ्नो आम्दानी, बचत, वित्तीय दायित्व र जोखिम वहन गर्ने क्षमताका आधारमा लगानीको आकार निर्धारण गर्नुपर्ने बोर्डले जनाएको छ।
धितोपत्र बजारमा लगानी गर्दा कम्पनीको अवस्था मात्रै हेरेर पुग्ने नभई समग्र अर्थतन्त्र तथा वित्तीय बजारको अवस्थालाई समेत विचार गर्नुपर्ने बोर्डको भनाइ छ। मुद्रास्फीति, बैंकिङ प्रणालीमा रहेको तरलता तथा ब्याजदरले धितोपत्र बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यी पक्षलाई समेत ध्यानमा राखेर लगानीसम्बन्धी निर्णय लिनुपर्ने सुझाव दिइएको छ। देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थाले पनि बजारमा प्रभाव पार्ने भएकाले लगानीकर्ताले यस्ता विषयमा नियमित जानकारी राख्नुपर्ने बोर्डले जनाएको छ।
बोर्डले लगानी गर्दा संस्थाको प्रकृति, सम्भावित प्रतिफल, विगतको लाभांश इतिहास, वित्तीय विवरण, व्यवस्थापनको क्षमता, उद्योग तथा व्यापारको अवस्था, कानुनी वातावरण, व्यापारको स्वरूप र कम्पनीको प्रतिस्पर्धात्मक क्षमताजस्ता आधारभूत पक्षको अध्ययन गर्न आग्रह गरेको छ। लगानी गर्नुअघि आफ्नो लगानीको उद्देश्य, लगानीको अवधि तथा अपेक्षित आम्दानी स्पष्ट गर्न र धैर्य तथा दीर्घकालीन सोचका साथ लगानी गर्नसमेत बोर्डले सुझाव दिएको छ। जोखिम कम गर्न लगानीमा विविधीकरण गर्न र आपत्कालीन कोषको व्यवस्था गर्नुपर्नेमा पनि बोर्डले जोड दिएको छ।
लगानीकर्ताको डिजिटल सुरक्षालाई पनि बोर्डले उत्तिकै महत्वपूर्ण मानेको छ। आफ्नो बैंक खाता, डिम्याट खाता तथा टीएमएस खाताको सुरक्षामा विशेष ध्यान दिन, बलिया तथा फरक–फरक पासवर्ड प्रयोग गर्न र उपलब्ध भएसम्म दुई तहको प्रमाणीकरण अर्थात् ‘टु–फ्याक्टर अथेन्टिकेसन’ प्रयोग गर्न बोर्डले आग्रह गरेको छ। धितोपत्र कारोबारमा रकमको लेनदेन बैंकिङ प्रणालीमार्फत मात्र गर्न तथा धितोपत्र दलालले लिने शुल्कसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी लिन पनि लगानीकर्तालाई सुझाव दिइएको छ।
धितोपत्र कारोबार गर्दा बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्नुपर्नेमा समेत बोर्डले जोड दिएको छ। अनधिकृत व्यक्ति वा संस्थामार्फत कारोबार गर्दा आर्थिक तथा कानुनी जोखिम उत्पन्न हुन सक्ने भएकाले लगानीकर्ताले कारोबारको माध्यम र सम्बन्धित संस्थाको वैधानिकता सुनिश्चित गर्नुपर्ने बोर्डको भनाइ छ।
बोर्डले भित्री सूचनाका आधारमा हुने कारोबार, कर्नरिङ तथा धितोपत्रको मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने गतिविधिबाट टाढा रहन पनि लगानीकर्तालाई आग्रह गरेको छ। बजारमा अस्वाभाविक रूपमा मूल्य बढ्ने वा घट्ने अवस्था सिर्जना गर्ने गतिविधिको पछि लाग्दा लगानीकर्ता आफैं जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन बोर्डले भनेको छ।
लगानीसम्बन्धी सूचना, वित्तीय परामर्श, विज्ञापन तथा प्रचारात्मक सामग्रीबीचको भिन्नता बुझ्नुपर्नेमा पनि बोर्डले जोड दिएको छ। कम्पनी तथा सम्बन्धित नियामक निकायले आधिकारिक रूपमा प्रकाशित गरेको सूचनालाई प्राथमिकता दिनुपर्ने भन्दै बोर्डले कुनै व्यक्ति, समूह वा सामाजिक सञ्जालमा गरिएको दाबीलाई आधिकारिक तथ्यका रूपमा नलिन आग्रह गरेको छ।
धितोपत्र बजार, वित्तीय बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम र निर्देशनबारे आधिकारिक जानकारी लिन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयका आधिकारिक माध्यम प्रयोग गर्न बोर्डले सुझाव दिएको छ। लगानीसम्बन्धी जिज्ञासा वा गुनासो भए सम्बन्धित धितोपत्र व्यवसायी, धितोपत्र निष्कासनकर्ता वा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा धितोपत्र बोर्डमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।
बोर्डका अनुसार विश्व लगानीकर्ता सप्ताहको मूल उद्देश्य पूँजी बजार शिक्षा, वित्तीय साक्षरता तथा लगानीकर्ता संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्नुका साथै लगानीकर्ताको ज्ञान र सचेतना अभिवृद्धि गर्नु हो। साथै, लगानीकर्ता शिक्षा तथा संरक्षणसम्बन्धी काममा आईओएससीओका सदस्यबीचको सहकार्यलाई थप बलियो बनाउने उद्देश्यसमेत सप्ताहले बोकेको छ।

प्रतिक्रिया दिनुहोस्: