काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर क्रमशः घट्दै गएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनुका साथै कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकहरूको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो ।
तथ्यांकअनुसार २० वटै वाणिज्य बैंकको औसत आधार दर भदौको ४.८० प्रतिशतबाट असोजमा ४.७५ प्रतिशतमा झरेको छ ।
असोजमा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधार दर ४.०१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो महिनाको ४.१३ प्रतिशतको तुलनामा ०.१२ प्रतिशत विन्दुले कम हो । आधार दरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अहिले अन्य वाणिज्य बैंकभन्दा तल देखिएको छ ।
यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ४.१२ प्रतिशत र एभरेष्ट बैंकको ४.१८ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर अघिल्लो महिनाकै ४.१२ प्रतिशतमा स्थिर रहे पनि एभरेष्ट बैंकको ४.२५ प्रतिशतबाट ४.१८ प्रतिशतमा झरेको छ ।
नबिल बैंक र नेपाल बैंकको आधार दर समान ४.४१ प्रतिशतमा आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको आधार दर ४.६३ प्रतिशतबाट ४.५५ प्रतिशतमा आएको छ भने कृषि विकास बैंकको ४.६६ प्रतिशतबाट ४.५५ प्रतिशतमा झरेको छ । यसैगरी ग्लोबल आइएमई बैंकको आधार दर ४.६७ प्रतिशतबाट ४.६४ प्रतिशत, सानिमा बैंकको ४.७९ प्रतिशतबाट ४.७१ प्रतिशत र प्राइम बैंकको ४.९५ प्रतिशतबाट ४.८७ प्रतिशतमा सीमित भएको छ ।
कुमारी बैंकको आधार दर पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो महिनामा ५.०३ प्रतिशत रहेको बैंकको आधार दर असोजमा ४.९२ प्रतिशतमा आएको छ । माछापुच्छ्रे बैंकको ४.९५ प्रतिशतबाट ४.९३ प्रतिशत, सिद्धार्थ बैंकको ४.९६ प्रतिशतबाट ४.९३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.९९ प्रतिशतबाट ४.९४ प्रतिशतमा झरेको छ ।
सिटिजन्स बैंकको आधार दर ५.०४ प्रतिशतबाट ४.९७ प्रतिशतमा आएको छ भने एनएमबी बैंकको ५.०६ प्रतिशतबाट ५.०१ प्रतिशतमा सीमित भएको छ । हिमालयन बैंकको ५.०६ प्रतिशतबाट ५.०३ प्रतिशत र नेपाल एसबीआई बैंकको ५.१४ प्रतिशतबाट ५.११ प्रतिशतमा आएको छ ।
एनआईसी एशिया बैंकको आधार दर पनि घटेको छ । अघिल्लो महिनामा ५.८० प्रतिशत रहेको बैंकको आधार दर असोजमा ५.६९ प्रतिशतमा झरेको छ । आधार दर सबैभन्दा उच्च देखिएको छ ।
बैंकहरूको आधार दर घट्नुको पछाडि बैंकिङ प्रणालीमा रहेको तरलता महत्वपूर्ण कारणका रूपमा देखिन्छ । बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम पर्याप्त भए पनि अर्थतन्त्रमा कर्जाको माग अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । व्यवसायिक गतिविधिमा आएको सुस्तता, नयाँ लगानीप्रति देखिएको सावधानी र समग्र आर्थिक गतिविधिको गति कमजोर हुँदा बैंकमा उपलब्ध रकमको तुलनामा कर्जाको माग कम रहेको अवस्था छ । यस्तो अवस्थामा बैंकहरूले निक्षेपको लागत घटाउँदै जाँदा त्यसको प्रभाव आधार दरमा समेत पर्न जान्छ ।
बैंकिङ प्रणालीमा तरलता सहज हुँदा बैंकहरूबीच कर्जा प्रवाहका लागि प्रतिस्पर्धा बढ्न सक्छ । अर्कोतर्फ निक्षेपमा दिने ब्याजदर घट्दै गएपछि बैंकहरूको स्रोत लागत पनि कम हुन्छ । स्रोत लागत घटेपछि आधार दरमा कमी आउने सम्भावना रहन्छ । पछिल्लो तथ्यांकले यही प्रक्रियाको प्रभाव बैंकहरूको आधार दरमा क्रमशः देखिन थालेको संकेत गर्छ । तर आधार दर घट्दैमा बैंकबाट प्रवाह हुने सबै कर्जाको ब्याजदर समान दरले घट्छ भन्ने हुँदैन ।
कर्जाको वास्तविक ब्याजदर निर्धारण गर्दा आधार दरसँगै बैंकले लिने प्रिमियमको भूमिका महत्वपूर्ण हुन्छ । कर्जाको प्रकृति, ऋणीको जोखिम, कर्जाको अवधि तथा बैंकको आन्तरिक नीतिअनुसार आधार दरमा प्रिमियम थपेर कर्जाको ब्याजदर तय गरिन्छ । हाल कर्जाको प्रकृति हेरेर आधार दरमा करिब १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: