नापीका सर्भेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको गैरकानुनी सम्पत्ति आर्जन मुद्दा

२०८३ आश्विन १५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साल असार २७ गतेदेखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी र उनको एकाघर परिवारका सदस्यहरूको आय तथा व्ययको विस्तृत गणना तथा विश्लेषण गरिएको आयोगले जनाएको छ।

अनुसन्धानबाट उक्त अवधिमा श्रेष्ठ तथा उनका एकाघर परिवारका सदस्यहरूले सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक तथा तलब बचत, भत्ताबाट प्राप्त बचत, जग्गा बिक्री, छोरीको पारिश्रमिक, ऋण सापटी लिएको तथा फिर्ता पाएको रकम, घर तथा जग्गा बहाल, सवारीसाधन बिक्री, बीमा परिपक्व हुँदा प्राप्त रकम, विभिन्न प्रयोजनका लागि व्यक्तिहरूबाट बैंक खातामा प्राप्त रकम तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा करकट्टीपछि प्राप्त ब्याजलगायतका स्रोतबाट कूल ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा वैधानिक आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

तर सोही अवधिमा उनी तथा उनका एकाघर परिवारका सदस्यहरूले जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चयकोष तथा व्यक्तिगत ऋण सापटी तिरेको वा दिएको रकम र आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेका बैंक खाताको मौज्दातसमेत गरी कूल १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ।

आयोगका अनुसार कुल वैधानिक आयबाट सोही अवधिको कुल व्यय घटाउँदा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको रकमको स्रोत पुष्टि हुन सकेन। यसबाट श्रेष्ठले आयोगमा पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको र सार्वजनिक पदमा रहँदाका बखत उनको तथा एकासगोलका परिवारका सदस्यको वैधानिक आम्दानीको स्रोतको अनुपातमा अमिल्दो आर्थिक साधन तथा सम्पत्ति रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको जनाएको छ। सोही आधारमा श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ।

त्यस्तै, श्रेष्ठले वास्तविक सम्पत्तिभन्दा बढाई तथा रहेको सम्पत्ति लुकाईछिपाई झुट्टा विवरण दिएको तथ्यसमेत अनुसन्धानबाट पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद तथा जरिवाना गरी लुकाईछिपाई राखिएको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ।

श्रेष्ठकी श्रीमती कमला श्रेष्ठलाई भने गैरकानुनी रूपमा आर्जन गरिएको स्रोत नखुलेको सम्पत्तिबाट उनको एकल तथा संयुक्त नाममा खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित तथा निषेधित कसुर गरेको अभियोग लगाइएको हो। साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनका सम्बन्धित प्रावधानअनुसार मागदाबी लिइएको छ।

प्रतिक्रिया दिनुहोस्: