सुकुम्वासी बस्ती हटाउने अभियानविरुद्ध प्रदर्शन, पुनःस्थापना र क्षतिपूर्तिको माग

२०८३ असार १२

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानको विरोध गर्दै प्रभावित समुदायले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्। पुनःस्थापना, क्षतिपूर्ति र सुरक्षित आवासको सुनिश्चितता गर्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी बस्ती हटाउनु मानवीय दृष्टिले उपयुक्त नभएको बताएका छन्। उनीहरूले विस्थापित परिवारका लागि तत्काल सुरक्षित आवासको व्यवस्था गर्न र दीर्घकालीन पुनःस्थापना योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा बस्ती हटाउने क्रममा भत्काइएका घर तथा अन्य संरचनाको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ। वैकल्पिक व्यवस्था बिना गरिएको निष्कासनका कारण विपन्न परिवार थप समस्यामा परेको प्रदर्शनकारीहरूको भनाइ छ।

आन्दोलनरत पक्षले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका परिवारको भविष्य अझै अन्योलमा रहेको उल्लेख गर्दै स्पष्ट पुनःस्थापना योजना नबनाई थप स्थानान्तरण वा निष्कासन नगर्न सरकारलाई आग्रह गरेका छन्।

सरकारले केही दिनअघि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीलाई आफ्नै बसोबासको व्यवस्था गर्नुपर्ने आशयको सूचना जारी गरेपछि प्रभावित समुदायको असन्तोष बढेको छ। सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम क्रमशः विस्तार हुँदै गएको प्रदर्शनकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्: