वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो ः क्यान

२०८१ असार ११

काठमाडौं असार ११, स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ मा नेपालमा मात्र ४८ हजारको मृत्यु भएको जनाएको छ ।
स्टेट अफ ग्लोवल एयरको उक्त प्रतिवेदनले सन् २०२१ मा विश्वमा वायु प्रदूर्षणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार ५०० मानिसको मृत्यु भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार १०० थियो ।
विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि.एम २.५ अर्थात धुलो धँुवामा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६ प्रतिशत को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ । विश्वभरी उच्च रक्तचापपछि वायु प्रदुर्षणनै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदुर्षणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।
संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा” नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ । यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन ।
वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम् प्रयोग हुन् । यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् ।
वायु प्रदषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दिर्घ रोगीहरु, महिला आदि बढी जोखिममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।
यस परिस्थितिमा हामी तपसिलमा उल्लेखित संघ–संस्थाहरु नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवम् प्रदेश र स्थानीय सरकारहरुसँग तत्काल निम्न कार्य माग गर्दछौं ।
१) वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदुर्षण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस् ।
२) वायु प्रदुर्षण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुर्षण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारवाहीको व्यवस्था गरियोस् ।
३. वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुँदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरुको वातावरणीय मानव अधिकार सुरक्षित गरियोस् ।
४) वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यविधि एवम् योजनाहरु समय सापेक्ष बनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरियोस् ।
५) वन डढेलोका कारण यस वर्ष ५ हजार ठाउँमा वन डढेलो लाग्यो । यसबाट सामाजिक, आर्थिक, र वातावरणमा अपुरणीय क्षति भयो । वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस् ।
६) काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगि फाल्ने गरिएको छ । यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका वासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको छ । संघीय सरकार एवम् काठमाडौं उपत्यकाका सबै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिवद्धता गरियोस् ।
७) वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ–संस्था एंव मिडियामार्फत व्यापक बहसमा ल्याई नागरिक स्तरमा जानकारी गरियोस् ।
८) अन्त्यमा वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन एवम् क्यान अभियानमा सबै व्यक्ति तथा संघ–संस्थालाई आव्हान गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्: