मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच तराई–मधेस खानेपानी समस्या समाधान गर्न छलफल

२०८२ असार ३१

जनकपुर (मधेस प्रदेश), असार ३१, संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच तराई–मधेस खानेपानी दीर्घकालीन समस्या समाधान गर्न छलफल भएको छ ।
मधेस प्रदेशको जनकपुरमा तराई–मधेस खानेपानी दीर्घकालीन समस्या सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश उर्जा, सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव सहित सरोकारवालासँग गहन छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
सो छलफलका क्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको संकट दिनानुदिन गम्भीर बन्दै गएकाले समस्या समाधानका लागि आफु व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय रहेको जानकारी दिनुभयो ।
मन्त्री यादवले “तराई–मधेस खानेपानी दीर्घकालीन समाधान गर्न सबै तह र तप्काबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताए । समस्या समाधानका लागि म व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय छ ।”
छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्: