नेपाल–भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला

२०८१ असार ९

जनकपुरधाम  असार ९, नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको ‘नेपाल–भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुला सीमामा पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षाकर्मीबाट दुव्र्यवहार झेल्नु परेको जीकिर गरेका छन् । उनले भारतीय सुरक्षाकर्मी एसएसबी र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीको यस्ता कार्यले सदियौंदेखिको रोटी र बेटीको सम्बन्धमा दरार पैदा हुँदै गएको तर्क गरेका हुन् ।

‘खुला सीमाले हुने तस्करी, लागुऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले नै नियन्त्रण गर्न सक्छन् । तर त्यतातिर ध्यान दिँदैन । तस्करलाई रोक्न सक्दैन । तर त्यसको नाममा दुबै देशका आमसर्वसाधरणलाई अनावश्क दुःख दिने काम बढेको छ । यसले दुबै देशको सदियौंको सम्बन्धमा दरार पैदा भइरहेको छ’, उनले भनेका छन् ।

दुबै देशका सरकारले सुरक्षा निकायमा जनतासँग राम्रो व्यवहार गर्न निर्देशन दिनुपर्ने उनले बताए । सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्नसके दुबै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ ।

देशमा आर्थिक संकट भएको बेला १ हजार ७५१ किलोमिटर खुल्ला सीमामा तारजाली गर्नु उचित नहुने उनले बताए ।

भारतको कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थपनका लागि अभियान चलाउनु पर्नेमा जोड दिए । सीमा सुदृढिकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यवहारले सम्बन्धमा थप तिक्तता हुने उनको भनाइ थियो ।

सिरहाका पवुद्ध नागरिक समाजका अगुवा डा.रामप्रताप यादवले सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनिकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने विचार व्यक्त गरे ।

प्राध्यापक चन्देश्वर प्रसाद यादवले अपराध न्यूनिकरणको विषयमा विचार गर्दै खुल्ला सीमा विषयमा विचार मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: