काठमाडौं । भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण तथा विपद्पछि तत्काल आवश्यक पर्ने रकम जुटाउन नेपाल र विश्व बैंक समूहबीच विपद् बन्ड विकास गर्ने सम्बन्धमा साझेदारी भएको छ।
यसका लागि नेपाल सरकार र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबीच कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हो। बैंककमा भएको यस सम्झौताले नेपालमा भूकम्पीय जोखिम व्यवस्थापनका लागि पुँजी बजारबाट वित्तीय स्रोत जुटाउने सम्भावनाको अध्ययन गर्ने बाटो खोलेको छ।
सम्झौताअनुसार विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजी बजारका लगानीकर्तासँग सहकार्य गरी यस्तो बन्ड जारी गर्न सकिने सम्भावना र त्यसको संरचनाबारे अध्ययन गर्नेछ।
विपद् बन्ड प्राकृतिक विपद्बाट हुने आर्थिक क्षतिको जोखिम व्यवस्थापन गर्न प्रयोग गरिने वित्तीय साधन हो। यस्तो बन्डमार्फत विपद्को जोखिम लगानीकर्तामा हस्तान्तरण गर्न सकिन्छ। बन्डको सर्तअनुसार विपद् आएमा त्यसबाट प्राप्त रकम प्रभावित देशले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रयोग गर्न सक्छ।
नेपाल भूकम्पलगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो। यस्तो वित्तीय व्यवस्था विकास गर्न सके भविष्यमा भूकम्पबाट ठूलो क्षति हुँदा आवश्यक रकम छिटो जुटाउन र विपद्पछिको पुनःस्थापनालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षाका साथ विश्व बैंकसँग साझेदारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्: