नापी कार्यालयका सर्वेक्षक घुससहित खाजाघरबाट रंगेहात पक्राउ

२०८३ आश्विन १

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साह एक लाख घुस खाँदै गर्दा रंगेहात पक्राउ परेका छन्।

सर्वेक्षक साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी संशोधन गरिदिनको लागि दुःख हैरानी दिई घुस मागेको उजुरी अख्तियारमा परेपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएर गएको टोलीले साहमाथि निगरानी गरेको थियो।

निगरानीकै क्रममा सर्वेक्षक साहले नापी कार्यालय अगाडी रहेको एउटा खाजाघरमा सेवाग्राहीलाई बोलाएर एक लाख रुपैयाँ घुस लिएका थिए। उनले घुस रकम लिनेबित्तिकै अख्तियारको टोली उक्त खाजाघरमा पसेर घुस रकम सहित रंगेहात पक्राउ गर्न सफल भएको हो।

उनलाई भदौ ३० गते मंगलबार घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका साहमाथि भदौ ३१ गते विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता सुरशे न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्: