नेपाल संयुक्त राष्ट्रसंघको निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको अध्यक्षमा निर्वाचित

२०८३ जेष्ठ २४

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ।

यो उपलब्धिलाई अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र निःशस्त्रीकरणप्रति नेपालले लामो समयदेखि निभाउँदै आएको भूमिकाको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालप्रति व्यक्त गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन्। उनले सात दशकभन्दा बढी समयदेखि बहुपक्षीयता, विश्व शान्ति तथा निःशस्त्रीकरणका पक्षमा नेपालले निरन्तर उठाउँदै आएको आवाजलाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गरेको बताएका छन्।

नेपाल अध्यक्षमा निर्वाचित भएपछि थापाले समितिको नेतृत्व निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सबै सदस्य राष्ट्रहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघीय महासभाको प्रथम समितिले निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसँग सम्बन्धित विषयमा छलफल, नीति निर्माण र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

अध्यक्षको हैसियतमा नेपालले समितिका बैठक सञ्चालन गर्ने, बहसको व्यवस्थापन गर्ने, सदस्य राष्ट्रहरूबीच सहमति निर्माणका लागि वातावरण सहज बनाउने तथा सुरक्षा र निःशस्त्रीकरणसम्बन्धी प्रस्तावहरूमा समझदारी जुटाउन पहल गर्नेछ। संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशन सन् २०२६ को सेप्टेम्बरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजना हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्: