काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभा औपचारिक रूपमा शुरु भएको छ । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व, विकासका उपलब्धि कमजोर हुँदै गएको तथा जलवायु परिवर्तनका असर बढ्दै गएको बताए । उनले यस्ता चुनौतीका कारण बहुपक्षीय प्रणाली र अन्तर्राष्ट्रिय संस्थाप्रतिको विश्वासमा दबाब परेको उल्लेख गरे ।
अध्यक्ष रहमानले अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन संवाद र आपसी सहकार्य आवश्यक रहेको बताए । उनले विश्वका साझा समस्या समाधान गर्न सबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यस वर्षको महासभाको मुख्य विषय ‘विश्वास पुनस्र्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ । महासभामा विश्व शान्ति, विकास, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलगायत विषयमा छलफल हुनेछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्व र विभाजनसँगै आणविक तनावको जोखिम बढिरहेको बताएका छन् । उनले गरिबी, असमानता, जलवायु संकट र दिगो विकास लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई पनि प्रमुख चुनौतीका रूपमा औंल्याएका छन् । त्यस्तै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईबाट सिर्जना हुने अवसर र जोखिम पनि महासभाका विषय बन्नेछन् । विश्वभर देखिएका समस्या समाधान गर्दै संयुक्त राष्ट्रसंघप्रति विश्वास बढाउनु यसपटकको महासभाको प्रमुख उद्देश्य रहने बताइएको छ ।
महासभामा दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, समुद्री सतह बढ्ने समस्या, महामारी रोकथाम, तयारी र प्रतिक्रिया, विश्व शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षाप, मानव अधिकार तथा विकासको अधिकार, बहुपक्षीय सहयोग तथा यूएन सुधार, समानता र सामाजिक न्याय जस्ता विश्वव्यापी मुद्दाहरूमा समेत छलफल हुनेछ ।
संयुक्त राष्ट्रसङ्घ विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । यसमा नेपालसहित विश्वका १९३ देशहरू पूर्ण सदस्य छन् भने दुईवटा गैरसदस्य राज्य छन् । ती दुई राज्य भ्याटिकन र प्यालेस्टिन हुन् । संयुक्त राष्ट्रसङ्घको महासभा यसको मुख्य बैठक हो र यसले यो संस्थाले गर्ने कामहरूबारे निर्णय लिन्छ ।

प्रतिक्रिया दिनुहोस्: