काठमाडौं असोज ११, ४६ औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार बोर्डको सभा हलमा भएको कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालको पर्यटन पछिल्लो जेनजी आन्दोलनपछि सिर्जना भएको सङ्कटपछिको रिकभरीको चरणमा पुगेको बताएका हुन् । यसका साथै पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
‘पर्यटन र दीगो रुपान्तरण’ भन्ने नारासहित मनाइएको ४६औं विश्व पर्यटन दिवसमा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश वाचन गरिएको छ । जसमा नेपाल अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण पर्यटकहरूको लागि आकर्षक गन्तव्य भएको उल्लेख छ । जसमा भनिएको छ, ‘पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य छ ।’
यसका साथै प्रधानमन्त्री कार्कीले सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल रिकभरी सुरु भइसकेकोसमेत आफ्नो सन्देशमा उल्लेख गरेकी छन् । उनको सन्देशमा भनिएको छ, ‘यस वर्षको दिवसले पर्यटनलाई दिगो विकास, आपसी समझदारी र अन्तर्राष्ट्रिय मित्रताको आधार स्तम्भका रूपमा प्रवर्धन गर्न प्रेरित गरेको छ । यसका साथै पर्यटनले हाम्रा अतिथिहरूलाई अतिथि देव भव भन्ने हाम्रो परम्पराको वास्तविक अनुभव दिलाउँछ । नेपाल सरकार पर्यटन पूर्वाधारको विस्तार, सेवास्तरको प्रवर्धनमार्फत यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध छ । यसका साथै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित भएको सन्देश दिन चाहन्छु । ’
कार्यक्रमको अध्यक्षता गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि प्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैं खुला रहेको बताएका छन् । उनले भने, “नेपालमा भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैं तयार छ ।’
त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमा पर्यटनले रिकभरी गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताएकी छन् । उनले भनिन्, ‘पर्यटनको रिकभरी सँगसँगै दिगो रूपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ । पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकोले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै भने, ‘नेपालमा पर्यटक आगमन जेनजी आन्दोलनपछि फेरि रिकभर हुने चरणमा प्रवेश गरेको छ । भदौ २४ र २५ गतेको आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक आगमन हुने गरेकोमा आन्दोलनको साता १६ सयमा झरेको थियो भने दोस्रो साता २२ सय पुग्यो र यस साता २९ सय हाराहारीमा पर्यटक आगमन पुगेको छ ।’ उनले हरेक संकटमा सरकार र निजी क्षेत्र एकभएर पर्यटन पुर्नरुत्थानमा लागेको नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको समेत उल्लेख गरेका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था र व्यक्तिहरूलाई सम्मानितसमेत गरेको हो । जसमा पदयात्रा तथा साहसिक पर्वतीय पर्यटनको विकास, प्रवद्र्धन तथा व्यवस्थापनमा स्थानीय निकायहरूमध्येबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै दार्चुलाको अपि हिमाल गाउँपालिकालाई सम्मान गरेको छ । त्यसैगरी पदयात्रा तथा साहसिक पर्वतीय पर्यटन विकास, प्रवद्र्धन तथा व्यवस्थापनमा ५० वर्षभन्दा बढी समय आरोहण गाइडका रुपमा काम गरेको भन्दै सोलुखुम्बुका छिरिङ टेण्डी शेर्पालाई सम्मान गरिएको छ । पर्वतीय उद्धार कार्यमा योगदान पु¥याएका आङ नोर्बु शेर्पा, केटु हिमालमा विश्व कीर्तिमानसहित सगरमाथामा ११ पटक र मनास्लुमा ६ पटक आरोहण गरेका सिद्धिबहादुर तामाङ, आन्तरिक नागरिक उड्डयन क्षेत्रबाट रविन्द्र राज पाण्डेय, पर्यटन उद्योगमा उदीयमान नेतृत्वको रुपमा नाटाका अध्यक्ष कुमार मणि थपलिया, पर्यटन पत्रकारको तर्फबाट सबिना कार्कीलगायत १९ वटा विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवद्र्धन मञ्चले गाउँ पर्यटन र पहिचान शीर्षकको पुस्तकसमेत विमोचन गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा शनिबार नेपाल अवतरण गर्ने पहिलो पर्यटक अमेरिकी नागरिक जर्ज कोर्डेल ब्रानुन र चिलीका नागरिक हर्जोग अमुनातेगुइलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: