मन कुमार न्यौपाने
विश्व मानचित्रमा नेपालको राजधानी काठमाडौं प्रदुषित सहरमा छ । यस्तो भयावह वातावरणीय समस्या देखिँदा पनि नेपाल सरकारले कुनै चिन्ता लिएको छैन र यसबारे ठोस नीतिहरु निर्माण गर्न सकेको छैन ।
नेपालका राष्ट्रिय मिडियामा यस बारे दिनहुँजसो समाचारहरु सार्वजनिक भइरहेका छन् । काठमाडौंको प्रदुषण नियन्त्रण गर्ने उपायबारे सरकार चुपचाप छ र सरोकारवाला निकायहरु पनि वातावरणीय समस्यालाई नदेखेजस्तो गरिरहेका छन् ।
अहिले राजधानी काठमाडौंका सडक जताततै भत्काइएको छ, खाल्टैखाल्टा छन् र अब सुरु हुन लागेको मौसमका कारण काठमाडौं धुलाम्य भइरहेको छ ।
वायु प्रदुषणका कारण मानिसको फोक्सोमा असर पर्ने भन्दै विज्ञहरुले सचेत रहन आग्रह गरिरहेका छन् ।
मानव स्वास्थ्य गम्भीर संकटमा परिरहँदा पनि वातावरण प्रदुषण नियन्त्रणका लागि सरकारी निकायले ठोस पहल गरेको छैन । वातावरणीय प्रभाव अध्ययन बिना भएका विकास निर्माणका काम र त्यसले वातावरणमा पारेको प्रभाव बारे जनस्तरमा बोल्न ढिला भइसकेको छ । निकम्मा प्राय सरकारी संयन्त्र र चुपचाप बसेका जनस्तरका कारण राजधानी काठमाडौं मानव स्वास्थ्यका लागि भयानक भइसकेको छ ।
बिनायोजना दिगो विकासको अभावमा भइरहेका विकास र त्यसले पारेको वातावरणीय प्रभाव अहिले नेपालीको मुल मुद्धा बन्न सकेको छैन ।
भारतीय औद्योगिकरण, धुलो धुँवाका कारण राजधानी काठमाडौं यतिबिध्न प्रदुषित हुन पुगेको छ । जलवायु परिवर्तनमा आएका असरहरुका कारणले पनि यस्तो स्थिति निम्तिएको छ । हिमालहरु बज्जर हुन थालेका छन् । कुवा, पानी पोखरी र तलाउहरु सुक्न थालेका छन् । चैत वैशाखको तातो हावा र हावासंगै उडेर आएका धुलोले उपत्यका छपक्कै भएको छ ।
निर्माणाधीन संरचनाहरु समयमै निर्माण नहुनु, जताततै धुलो फाल्नुजस्ता मानव समुदायका कमजोरीका कारण प्रदुषित काठमाडौं यसबाट मुक्त हुन सकिरहेको छैन ।
नेपालका विभिन्न ठाउँमा फैलिएको डढेलो, मासिँदै गएको वनजंगलका कारण वातावरणमा गम्भीर समस्या देखिएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका सवालमा विश्व गम्भीर हुनुपर्ने भनेर अन्तराष्ट्रिय फोरमहरुमा बोल्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा विश्वले नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेका थिए । जलवायु परिवर्तनको सवालमा नेपालको योगदान निकै कम भएपनि क्षति भने नेपालले व्यहोरिरहेको बताए ।
विश्व मंचहरुमा राष्ट्रपति र सरकार प्रमुखले जलवायु परिवर्तनका मुद्धामा आवाज उठाउँदै आएको भएपनि नेपालले बोल्ने बाहेकका ठोस् नीति तथा कार्यक्रमहरु ल्याउन सकेको छैन । स्थापित कलकारखाना र उद्योगहरुले पनि प्रदुषण फैलाउँदै आएकामा सरकारी निकाय मौन बसेको छ ।
अहिले फैलिएको व्यापक प्रदुषण मानव स्वास्थ्यका हिसाबले भयानक छ, जसको नियन्त्रण जरुरी छ र समयमै यो नियन्त्रणमा आउन सकेन भने यसले विश्व वातावरणलाई नै गम्भीर क्षति पुर्याउन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्: