आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल

२०८१ मंसिर ७

काठमाडौं मंसीर ५, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए ।
अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा भन्नु भएको हो ।
सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्डनै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक सोतको प्रभावकारी परिचालन अपरिहार्य रहेका बताए ।
ढकालले विगत केहि वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवद्र्धन सम्बन्धी विषयले समग्र कर प्रशासनलाई झक–झकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।
उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सिर्जना गर्ने तर्फ ध्यान दिईएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताएका छन् ।
अध्यक्ष ढकालले आन्तरिक स्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष सम्बन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलापहरु सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिनु भयो । यसको लागि व्यवसायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्बद्ध सबै सरकारी निकायहरुको एकिकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।
आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्वोधन गर्नु हुँदै आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताउनु भयो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कार्वाहीहरुलाई पारदर्र्शी बनाई समीक्षा हुनु पर्दछ भन्नु भयो ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सारनै औद्योगिक वातावरण प्रवद्र्धनको लागि हो भन्नु हुँदै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसै गरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्बन्धी नीतिहरु लगानीमैत्री बन्दै आएको बताउनु भयो । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: