एक महिनाभित्र जरिवाना नतिरे व्यवसायमा सिलबन्दी गर्ने सरकारको चेतावनी

२०८३ मंसिर १२

काठमाडौं । बजार अनुगमनका क्रममा कारबाहीमा परेर जरिवाना तिर्न बाँकी रहेका व्यवसायीलाई एक महिनाभित्र रकम दाखिला गर्न सरकारले निर्देशन दिएको छ। तोकिएको समयभित्र जरिवाना नतिरे सम्बन्धित व्यवसायमा सिलबन्दी गर्नेदेखि बैंक खाता तथा चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रियासमेत अघि बढाइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि जरिवानामा परेका फर्म, कम्पनी तथा प्रतिष्ठानलाई यस्तो निर्देशन दिएको हो।

विभागका अनुसार विभिन्न मितिमा गरिएको नियमित तथा आकस्मिक बजार अनुगमनका क्रममा कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएका व्यावसायिक फर्म तथा प्रतिष्ठानलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम तत्काल जरिवाना गरिएको थियो। तर, कतिपय व्यवसायीले हालसम्म पनि जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको प्रमाण विभागमा बुझाएका छैनन्।

विभागले पहिलो पटक सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला गर्न र त्यसको सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउन भनेको छ।

तोकिएको समयभित्र जरिवाना नबुझाउने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ। जरिवाना दाखिला नगरे सम्बन्धित व्यावसायिक फर्म, पसल वा प्रतिष्ठानमा सिलबन्दी गरी कारोबार तत्काल रोक्का गरिने सूचनामा उल्लेख छ।

त्यस्तै प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, कम्पनी ऐन, २०६३ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका कानुनी व्यवस्थाबमोजिम सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेजीका लागि सिफारिस गरिनेछ। अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र तथा अनुमतिपत्र निलम्बन वा खारेज गर्नसमेत सम्बन्धित निकायमा लेखी पठाइने विभागले जनाएको छ।

यसका अतिरिक्त जरिवाना रकम सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसका लागि सम्बन्धित मालपोत कार्यालय तथा बैंक र वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्: