३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति बनाउँदै सरकार

२०८३ मंसिर ११

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् उत्पादनमा विभिन्न ऊर्जा स्रोतको हिस्सा निर्धारण गरी लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने उद्देश्यसहित सरकारले नयाँ नीति ल्याउन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ऊर्जा मिश्रणको खाका तयार गर्न लागेको छ । यसले आगामी एक दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्ने र विद्युत् उत्पादनमा कुन स्रोतको योगदान कति रहने भन्ने आधार तय गर्नेछ ।

हाल नेपालमा करिब ४ हजार २०० मेगावाट विद्युत् उत्पादन क्षमता जडित छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनामा निर्भर रहेकाले वर्षायाममा विद्युत् उत्पादन बढी हुने र हिउँदमा घट्ने समस्या छ । यस्तो मौसमी असन्तुलन व्यवस्थापन गर्न जलाशययुक्त, पम्प स्टोरेज तथा वैकल्पिक ऊर्जा स्रोतको विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

यसअघि सरकारले १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार मानेर ऊर्जा मिश्रण निर्धारण गरेको थियो । उक्त व्यवस्थाअनुसार जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाही आयोजनाको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा ५ देखि १० प्रतिशत कायम गरिएको थियो । सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो ।

२०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि सोहीअनुसार विद्युत् खरिद सम्झौताको व्यवस्था गरिएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो ।

तर, गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भएको थियो । त्यसयता नदी प्रवाही आयोजनासँगै अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया पनि रोकिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भएको छ । तर, थप २८१ वटा आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।

पीपीए नहुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा समेत समस्या देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आयोजनामा ऋण लगानी गर्नुअघि उत्पादित विद्युत् बिक्री हुने सुनिश्चितता खोज्ने गर्छन् । यस्तो अवस्थामा पीपीएलाई आयोजना निर्माणका लागि आवश्यक ऋण जुटाउने प्रमुख आधारका रूपमा लिइन्छ । त्यसैले नयाँ ऊर्जा मिश्रण नीतिले पीपीए प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खोल्नुका साथै निजी क्षेत्रको लगानी र आयोजना निर्माणलाई गति दिने अपेक्षा गरिएको छ ।

नयाँ नीतिमा सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई समेत प्राथमिकताका साथ समेट्ने तयारी छ । जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले ऊर्जा स्रोतको विविधीकरणलाई महत्त्व दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्: