दशैंमा जुनसुकै ब्रान्डको सिलिन्डर साटेर ग्यास लिन सकिने

२०८३ आश्विन २२

काठमाडौं । चाडपर्वको समयमा उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको छ । यसअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डभन्दा फरक कम्पनीको खाली सिलिन्डर बुझाएर पनि पायक पर्ने स्थानबाट ग्यास लिन सक्नेछन् ।

यो सुविधा लिन उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बजारमा ग्यास उपलब्ध हुँदाहुँदै सिलिन्डरको ब्रान्ड नमिलेका कारण उपभोक्ताले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो ।

विशेषगरी एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई लक्षित गरी व्यवस्था गर्न लागिएको हो । यसअघि फरक कम्पनीको सिलिन्डर साट्दा कतिपय डिलरले उपभोक्ताबाट अतिरिक्त रकम लिने गरेको गुनासो आउने गरेको थियो । नयाँ व्यवस्थामा भने ब्रान्ड फरक परेकै कारण उपभोक्ताले थप रकम तिर्नुपर्ने छैन ।

ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न १५ देखि २० प्रमुख स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने तयारी गरेका छन् । त्यस्ता काउन्टरबाट जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर तत्काल ग्यास लिन सकिने व्यवस्था मिलाइनेछ । चाडपर्वका बेला ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउँदै उपभोक्तालाई अनावश्यक झन्झटबाट मुक्त गर्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्: