संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय भेला न्युयोर्कमा सुरु

२०८३ आश्विन ७

काठमाडौं । विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय महासभा बहस सुरु भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको बहसमा विश्वमा बढ्दै गएको युद्ध, मानवीय संकट, जलवायु परिवर्तन, आर्थिक असमानता र नयाँ प्रविधिका चुनौतीबारे छलफल भइरहेको छ ।

८१औं महासभाको अध्यक्ष बंगलादेशका खलिलुर रहमानले उद्घाटन सत्रमा बदलिँदो विश्व परिस्थितिअनुसार संयुक्त राष्ट्रसंघलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । यस वर्षको मुख्य विषय ‘विश्वास पुनस्र्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ । उनले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, विकास, मानवअधिकार, बहुपक्षीय सहकार्य तथा संयुक्त राष्ट्रसंघीय संस्थाको सुधारलाई प्राथमिकतामा राखेका छन् ।

उद्घाटन बहसमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दै गएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै युद्ध र शान्ति, आर्थिक असमानता, जलवायु परिवर्तन तथा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई अहिलेको विश्वका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे । उनले अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार र बहुपक्षीय सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । जलवायु संकट अब भविष्यको चेतावनी नभई दैनिक जीवनमै देखिन थालेको वास्तविकता भएको उनको भनाइ थियो ।

महासभाका अध्यक्ष रहमानले पनि जलवायु परिवर्तन र वातावरणीय जोखिमलाई आफ्नो कार्यकालको महत्वपूर्ण विषय बनाएका छन् । उनले जलवायु अनुकूलन, वातावरणीय दिगोपन तथा जलवायुजन्य क्षतिको सामना गर्न विशेषगरी विकासशील र अति कम विकसित मुलुकलाई आवश्यक स्रोत तथा सहयोग उपलब्ध गराउनुपर्ने विषय अघि सारेका छन् ।

यसपटकको उच्चस्तरीय कार्यक्रममा जलवायु कार्य र न्यायपूर्ण रूपान्तरणबारे छुट्टै उच्चस्तरीय बैठकसमेत आयोजना हुँदैछ । त्यस्तै समुद्री सतह बढ्दै जाँदा उत्पन्न हुने जोखिमबारे पनि उच्चस्तरीय छलफल हुँदैछ । नेपालले पनि ८१औं महासभामा उच्चस्तरीय सहभागिता जनाउँदैछ । वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाँदैछ । शाहले बिहीबार महासभाको उच्चस्तरीय बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगेर विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागी भइरहेका छन् ।

नेपालले महासभामा जलवायु परिवर्तनबाट हिमाली तथा पर्वतीय मुलुकले भोगिरहेका समस्या, जलवायु न्याय, जलवायुजन्य विपद् तथा क्षति–नोक्सानीको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ । विशेषगरी गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीलाई न्यायको औजार बनाएर जलवायु परिवर्तनको क्षतिपूर्ति माग्ने नेपालले तयारी गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्: