काठमाडौं । भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदनले बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति भएको देखाएको हो ।
प्रतिवेदनअनुसार प्रभावित विभिन्न स्थानीय तहमा धान खेतीतर्फ १ हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । बाढीका कारण उक्त क्षेत्रबाट करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ ।
त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ । बाढीबाट नुवाकोट, धादिङ, गोरखा तथा रसुवाका विभिन्न स्थानीय तहमा कृषि क्षेत्र प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने क्षेत्र प्रभावित भएको छ । त्यसबाट करिब २ हजार ४५० टन धानमा क्षति पुगेको अनुमान गरिएको छ । त्यस्तै, लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर क्षेत्र प्रभावित हुँदा ७०० टन धान उत्पादनमा क्षति पुगेको छ ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ । रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
तरकारी खेतीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिएको छ । विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित १ हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ । धादिङको बेनीघाट रोराङमा ९ हेक्टर, गजुरीमा ७ हेक्टर, सिद्धलेकमा २ हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ ।
बाढीबाट पशुपन्छी क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार कुल २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् । यसबाट करिब १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
प्रभावित पशुपन्छीमध्ये कुखुराको संख्या सबैभन्दा धेरै छ । बाढीका कारण करिब २ लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन् । यो कुल प्रभावित पशुपन्छीको ८५.१ प्रतिशत हो । यद्यपि मूल्यका आधारमा कुखुराबाट भएको क्षति कुल पशुधन क्षतिको ४.८ प्रतिशत मात्रै रहेको छ ।
बाढीबाट ४ हजार ५७२ भैँसी प्रभावित भएका छन् । भैँसीमा मात्रै करिब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ, जुन कुल पशुधन क्षतिको ४१ प्रतिशत हो ।
त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख रुपैयाँ, गाईगोरुमा १७ करोड ९२ लाख रुपैयाँ, अन्य पशुमा १ करोड ४ लाख रुपैयाँ, बङ्गुर तथा बँदेलमा १ करोड ९६ लाख रुपैयाँ र भेडामा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । कुखुरामा ५ करोड ३७ लाख रुपैयाँ र अन्य चरामा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
कुल पशुधन क्षतिको ठूलो हिस्सा भैँसी, बाख्रा तथा च्याङ्ग्रा र गाईगोरुबाट भएको देखिन्छ । यी तीन समूहबाट मात्रै कुल पशुधन क्षतिको ९२.३ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्: