काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, यसअघि तयार गरिएका अध्ययन तथा प्रतिवेदन र पुनः सञ्चालनका लागि चाल्नुपर्ने कदमबारे अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको हो ।
मन्त्रालयका अनुसार कार्यदलले वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्नेछ । कार्यदललाई अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।
कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) श्रीकान्त यादव रहेका छन् । सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि छन् ।
कार्यदलले कारखाना सञ्चालन गर्ने वा नगर्ने विषयमा मात्रै अध्ययन गर्ने छैन । कारखानासम्बन्धी यसअघि भएका निर्णय तथा विभिन्न कार्यदलले पेश गरेका प्रतिवेदनका सुझाव र सिफारिसको समेत अध्ययन गर्नेछ । साथै कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाको विश्लेषण गरी विद्यमान समस्या पहिचान गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।
त्यसैगरी कारखाना परिसरमा रहेका भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोगिताबारे अध्ययन गरिनेछ । पुराना संरचना र मेसिनरी प्रयोग गरेर कारखाना पुनः सञ्चालन गर्न सकिने अवस्था छ कि नयाँ प्रविधि तथा संरचना आवश्यक पर्छ भन्ने विषय पनि अध्ययनको दायरामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: