काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
नयाँ व्यवस्थापछि देशभरका सरकारी कार्यालयमा सेवा लिन पेश गरिने निवेदनको ढाँचा एउटै हुनेछ। यसले कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने र सेवाग्राहीमा हुने अन्योल हट्ने अपेक्षा गरिएको छ।
सरकारले निवेदन प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउँदै डिजिटल माध्यमबाट समेत आवेदन दिन सकिने व्यवस्था गर्ने जनाएको छ। यसले आगामी दिनमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन सहज हुने विश्वास गरिएको छ।
निवेदन भर्न सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्नुका साथै कार्यालय परिसरमा हुने अनधिकृत सेवा सहजीकरणलाई समेत निरुत्साहित गर्ने सरकारको अपेक्षा छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: