युद्धविरामपछि विश्वभर सस्तिंदै इन्धन, नेपालमा भने घटाउन आनाकानी

२०८३ असार १६

काठमाडौं । मध्यपूर्वमा तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएको छ। तर अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत नेपाल आयल निगमले भने उपभोक्तालाई राहत दिन अझै कुनै निर्णय नगरेको गरेको छैन ।

श्रीलङ्काको सरकारी स्वामित्वको पेट्रोलियम कर्पोरेसनले मङ्गलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँले घटाएर ३८२ रुपैयाँ कायम गरेको जनाएको छ। त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ निर्धारण गरिएको छ। यसअनुसार डिजेलमा करिब ६ प्रतिशत र पेट्रोलमा झण्डै ५ प्रतिशत मूल्य घटेको छ।

यो निर्णय अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको तीव्र मूल्य गिरावटसँग जोडिएको छ। मध्यपूर्व क्षेत्रमा युद्धको जोखिम कम हुँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। ऊर्जा आपूर्तिमा अवरोध हुने जोखिम कम भएसँगै अन्तर्राष्ट्रिय बजारले सकारात्मक प्रतिक्रिया दिएको विश्लेषण गरिएको छ।

यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा युद्धको जोखिम बढेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्दा श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतसम्म बढाएको थियो। उच्च आयात लागत धान्न कठिन भएपछि सरकारले विद्युत् महसुलसमेत झण्डै एक तिहाइले वृद्धि गरेको थियो।

यता नेपालमा भने अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले तत्काल पाउन सकेका छैनन्। भारतको इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले विभिन्न कारण देखाउँदै मूल्य समायोजनमा ढिलाइ गर्दै आइरहेको छ ।

पछिल्ला दिनहरूमा विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटे पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउनेबारे कुनै निर्णय सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा भने निगमले छोटो अवधिमै मूल्य वृद्धि गर्ने तर घट्दा भने पर्ख र हेरको नीति अपनाउने गरेको भन्दै उपभोक्ता तथा सरोकारवालाबाट आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्: