सम्पत्ति शुद्धीकरणमा अजेयराज सुमार्गीमाथि अनुसन्धान तीव्र, राहदानी रोक्का

२०८३ असार १२

काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तीव्र पारिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी (पासपोर्ट) रोक्का गरेको छ।

विभागले विदेशबाट नेपाल भित्रिएको ठूलो परिमाणको लगानीको स्रोत, कारोबार र त्यसको वैधानिक प्रक्रियाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएका कम्पनीमार्फत नेपालमा रकम भित्रिएको विषय शंकास्पद देखिएपछि थप छानबिन सुरु गरिएको हो।

यसअघि २०७४ सालमै विभागले उक्त विषयमा प्रारम्भिक अध्ययन गरेको थियो। त्यतिबेला विदेशबाट भित्रिएको अर्बौं रुपैयाँको स्रोत स्पष्ट हुन नसकेको निष्कर्ष निकालिए पनि अनुसन्धानले अपेक्षित गति लिन सकेको थिएन। अहिले सोही विषयलाई पुनः प्राथमिकतामा राख्दै विस्तृत अनुसन्धान अघि बढाइएको विभागको भनाइ छ।

अनुसन्धानका क्रममा सुमार्गीसँग सम्बन्धित विभिन्न विदेशी कम्पनीमार्फत करिब ११ अर्ब रुपैयाँ नेपाल भित्रिएको देखिएको छ। प्रारम्भिक प्रतिवेदनअनुसार उक्त रकमको ठूलो हिस्सा साइप्रसस्थित एयरवेल सर्भिसेज र ब्रिटिस भर्जिन आइल्यान्ड्सस्थित जोधार इन्भेस्टमेन्टमार्फत आएको उल्लेख छ। विभागले वैदेशिक लगानीसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी रकम नेपाल ल्याइएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले पनि विदेशबाट आएको करिब साढे ३ अर्ब रुपैयाँ शंकास्पद कारोबारको आशंकामा रोक्का गरेको थियो। आवश्यक कागजात पेश भएपछि केही रकम फुकुवा गरिएको थियो। यस्तै महालेखा परीक्षकको प्रतिवेदनमा सुमार्गीसँग सम्बन्धित कम्पनीहरूले शेयर कारोबारका क्रममा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर छली गरेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: