काठमाडौं । सरकारले रसुवा भन्सार कार्यालयको प्रमुखमा राजेन्द्र प्रसाद ढुंगानालाई सरुवा गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको निर्णयअनुसार हाल रसुवा भन्सारमा कार्यरत तुलसीप्रसाद भट्टराईलाई मन्त्रालयमा तानेर ढुंगानालाई उक्त जिम्मेवारी दिइएको हो।
चीनसँगको व्यापारका लागि महत्वपूर्ण मानिने रसुवा नाकाको नेतृत्वमा ढुंगानालाई नियुक्त गरिएपछि विभिन्न तहमा चर्चा सुरु भएको छ। विगतमा उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको पृष्ठभूमिका कारण नियुक्तिलाई लिएर प्रश्न उठ्न थालेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ पुस १८ गते ढुंगानाविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उनले आफ्नो आयस्रोतभन्दा बढी चार करोड ६८ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको दाबी गरेको थियो।
आयोगका अनुसार २०४९ सालमा निजामती सेवामा प्रवेश गरेका ढुंगानाको २०७५ असार मसान्तसम्मको आय–व्यय विश्लेषण गर्दा सीमित रकम मात्र वैधानिक आम्दानी देखिएको र बाँकी सम्पत्ति भ्रष्टाचारमार्फत आर्जन गरिएको निष्कर्ष निकालिएको थियो। सोही आधारमा बिगो जफत तथा सजायको मागसहित मुद्दा दायर गरिएको थियो।
यद्यपि, विशेष अदालतले २०८० वैशाख ८ गते ढुंगानालाई उक्त आरोपबाट सफाइ दिएको थियो। अदालतबाट सफाइ पाएपछि उनी पुनः सेवामा सक्रिय भएका थिए। सरकारले अहिले उनलाई देशको प्रमुख व्यापारिक नाकामध्ये एक मानिने रसुवा भन्सारको नेतृत्वमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्: